८ वैशाख २०८१, शनिवार

‘मेमोरी किङ’ अर्पणसहित तीन प्रतिभालाई पुरस्कृत गरिने

१० माघ २०७९, मङ्गलवार
Image

मेचीनगर, १० माघ । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मानित गरिने भएको छ ।

लाल भागिरथा बानियाँ प्रतिष्ठानले उहाँ लगायत तीन प्रतिभालाई यही माघ १७ गते एक समारोहबीच पुरस्कृत गर्ने भएको हो ।

प्रतिष्ठानले आज धुलाबारीको होटल रोयल निर्वाणमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका छ ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व अर्पण शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११ कै असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गरिने भएको हो ।

सबै पुरस्कारको नगद राशी ३१ हजार रुपैयाँ रहेको छ भने उहाँहरुलाई कदरपत्र प्रदान गरिने बानियाँले बताउनुभयो । पुरस्कार छनौटका लागि पाँच सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको र सोही समितिको निर्णयका आधारका पुरस्कार दिने निर्णय गरिएको बानियाँले बताउनुभयो ।

सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि यस्तो सम्मान दिदै आएको छ । 

पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । 

पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँ लगायत पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।