१३ वैशाख २०८१, बिहिवार

धुलाबारी–खयरडाँगी धुलाम्य, स्थानीयलाई सास्ती

११ माघ २०७९, बुधवार
Image

मेचीनगर, ११ माघ । मेचीनगरको प्रमुख व्यापारिक केन्द्र धुलाबारीको मोडदेखि दक्षिण खयरडाँगीसम्म सडक धुलाम्ये भएको छ ।

कालोपत्रे र नाला बनाउने भनेर सडकको पीच उधिनेर निर्माण व्यवसायीले एक महिनादेखि सो क्षेत्रको एक किलोमिटर सडक धुलाम्ये बनाएका हुन् ।

धुलाबारी मोडका व्यवसायीहरुले पसल र रेस्टुरामा धुलो र प्रदूषण पसेर हैरानी खेपिरहेको बताएका छन् । 

खयरडाँगीका सडक छेउका घरहरु ठूला ट्रक र सवारी साधनले उडाउने धुलोका कारण दिनमा सात पटकसम्म घर पुछ्नु परिरहेको स्थानीय बताउँछन् ।

‘सडक बनाउनु पर्दा केही दिनसम्म धुलो खेप्नु स्वाभाविक नै होला, तर यहाँ त महिनौंसम्म यस्तै हालतमा छाडिन्छ,’ स्थानीयबासी भन्छन्–‘सडक निर्माणको काम धमाधम गरिदिने हो भने यस्तो सास्ती लामो समय खप्नु पर्ने थिएन ।’

निर्माण व्यवसायी पक्ष पुरानो कालोपत्रे उप्काउन एक महिना अघि डोजर लिएर आएको र त्यसपछि स्थानीय बासिन्दालाई धुलो खुवाएर काम अलपत्र छाडेको जनगुनासो छ ।

सो सडकमा निर्माण भइरहेको ड्रेनको काममा पनि ज्यादै ढिलासुस्ती भइरहेको छ । ड्रेनमा धेरै श्रमिक र उपकरण प्रयोग गरिएको छैन । 

सडक कालोपत्रे गर्न लामो समय लाग्ने हो भने निर्माण व्यवसायी पक्षले हरेक दिन एकपल्ट सो सडक क्षेत्रमा धुलो मार्न ट्याङ्करबाट पानी छिट्ने व्यवस्था मिलाउनु पर्ने स्थानीयको माग छ ।

हाल स्थानीयबासी तथा व्यापारीहरु खानेपानीको महँगो पानी सडकको धुलो मार्न छ्याप्न बाध्य छन् । 

मेचीनगर–१५ मा रहेका ठूला उद्योगका लागि कच्चा पदार्थ बोकेका ठूला यातायातका साधन समेत यही सडक प्रयोग गर्छन् । 

स्थानीयबासीलाई धुलो खुवाउँदै गाडी गुडाउने उद्योगीहरुले समेत स्थानीयको मर्काप्रति वेवास्ता गर्दै आएका छन् ।

धुलो हटाउन निर्माण व्यवसायी, उद्योगी र नगरपालिकाले पानी छिट्ने आवश्यक प्रबन्ध नगरे सडकमा गाडी गुड्न रोक्नु पर्ने स्थिति आउने स्थानीयबासीले चेतावनी दिएका छन् ।