१३ वैशाख २०८१, बिहिवार

अनियमितताको उजुरी परेपछि तेलपानी बनमाथि छानविन

११ माघ २०७९, बुधवार
Image

मेचीनगर, ११ माघ । मेचीनगर वडा नं. ३ को तेलपानी सामुदायिक बन उपभोक्ता समितिमाथि छानविन हुने भएको छ ।

समितिले आर्थिक अनियमितता गरेको उजुरी परेपछि बन डिभिजन कार्यालय झापाले छानविन समिति गठन गरेको हो ।

छानविन समितिको संयोजकमा बन डिभिजन कार्यालयका सहायक वन अधिकृत ऋषि पराजुली रहनु भएको छ भने सदस्यमा अरु तीन जना रहेका छन् ।

तेलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पशुराम पोखरेल नेतृत्वको कार्य समितिले विधान, वन कार्य योजना, स्वीकृत वार्षिक बजेट र वन ऐन अनुसार कार्य नगरी आर्थिक अनियमिततामा लागि परेको भन्दै डिभिजन वनमा उपभोक्ताहरुबाटै उजुरी परेको डिभिजनका निमित्त प्रमुख जीवन पाठकले बताउनुभयो । 

छानबिनबाट निष्कर्ष नआएसम्मका लागि डिभिजनले सो बन समितिको रुख कटान तथा संकलन सम्बन्धी सबै काम रोक्का गरेको छ ।

उपभोक्ताको नाममा चिरान सहमति ल्याई स–मिलमा लगिएको, सब डिभिजनले जिम्मा लगाएको ३८ थान मुडाको हिसाबकिताब नराखिएको, सामुदायिक वन ऋणमा भएको अवस्थामा वनभोजका नाममा जथाभाबी खर्च गरेको, डिभिजन वनको आदेश बिना वन क्षेत्रमा जथाभाबी डोजर चलाएर बाटो खनिएको लगायतका विषयमा उजुरी परेको डिभिजन कार्यालयले जनाएको छ ।