७ वैशाख २०८१, शुक्रवार

एसले घनश्यामलाई महासचिव, बामदेवलाई वरिष्ठ उपाध्यक्ष दिने

१२ माघ २०७९, बिहिवार
Image

झापा, १२ माघ । नेकपा एकीकृत समाजवादी (एस)ले घनश्याम भुसाललाई महासचिव बनाउने र बामदेव गौतमलाई पार्टीमा भित्राउने तयारी भएको छ ।

हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्ष बनाएर घनश्याम भुसाललाई महासचिव बनाउने पार्टीको तयारी छ ।

घनश्याम भुसाल हाल सचिवालय सदस्यमा मनोनित हुनुहुन्छ । माघ २१ र २२ गते हुने केन्द्रीय कमिटीको बैठकबाट उहाँलाई महासचिव चयन गरिने सम्भावना छ ।

२०७१ को नवौं महाधिवेशनबाट घनश्याम उहाँ नेकपा एमालेको उपमहासचिव निर्वाचित भए तापनि गत वर्ष मंसिरमा चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा उपाध्यक्षमा पराजित हुनुभएको थियो ।

एमालेले उहाँलाई स्थायी कमिटी सदस्य चयन गरेको थियो । तर, गत असोज २३ गते उहाँ एमाले परित्याग गरी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो । उहाँ चुनावमा एमालेकै उम्मेद्वार छविवाल विश्वकर्मासँग पराजित हुनुभयो ।

स्रोतका अनुसार एकीकृत समाजवादीले नेता वामदेव गौतमलाई पनि पार्टीमा भित्राउने प्रयास गरिरहेको छ ।

आफू एमाले नजाने र आफ्ना कुरा सम्बोधन भए एकीकृत समाजवादीमै आउने बचन गौतमले एसका अध्यक्ष माधवकुमार नेपाललाई दिनु भएको बताइएको छ ।

गौतम पार्टीमा आए उहाँलाई वरिष्ठ उपाध्यक्ष पद दिने तयारी एकीकृत समाजवादीको छ ।