१५ वैशाख २०८१, शनिवार

स्वास्थ्य

काँचुली फेर्दै भद्रपुरको प्रादेशिक अस्पताल

१३ माघ २०७९, शुक्रवार
Image

झापा, १३ माघ । प्रादेशिक अस्पताल भद्रपुरको नाम फेरिएसँगै अब भवन पनि नयाँ बनेको छ । साविक ‘मेची अञ्चल अस्पताल’ अब नाम फेरिएर ‘प्रादेशिक अस्पताल’ भएको हो ।

वि.सं. २०१५ सालमा २५ शैयाको सानो अस्पतालको रुपमा यसको स्थापना भएको थियो । वि.सं. २०३४ सालमा यसको स्तरोन्नति हुँदै शैया संख्या बढेर ५० पुगेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिनुभयो ।

साविक मेची अञ्चलका चार जिल्लाको सबैभन्दा ठूलो र प्रदेश नं. १ को दोस्रो ठूलो सरकारी स्वास्थ्य सेवा प्रदायक अस्पतालको रुपमा परिचित यो अस्पताल भद्रपुर नगरपालिका वडा नं. ८ को १२ बिगाहा सात कठ्ठामा फैलिएको छ ।

हाल यस अस्पतालको शैया ११८ रहेको छ भने प्रदेश सरकारले बढाएर २०० पुर्याउने घोषणा गरिसकेको छ । अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नति गर्ने प्रस्ताव समेत गरिएको छ ।

सुविधासम्पन्न नयाँ भवन तयार

पचास वर्ष अघि बनेको पुरानो भवन जीर्ण बनेपछि नयाँ भवन बनाउनु पर्ने आवाज धेरै पहिलेदेखि उठेको हो । तर, वि.सं. २०७४ तिर ठेक्का लागेर भर्खर नयाँ भवन निर्माण भएको छ ।

हालको मुख्य भवनदेखि ठिक पूर्वतिर संघीय सरकारको बजेटमा नयाँ भवनको निर्माण कार्य सकिए पनि हस्तान्तरण हुन र अक्सिजन प्लान्टको पाइपलाइन विस्तारको काम मात्र बाँकी रहेको सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इन्जिनियर मोहम्मद दिलावर रायनले बताउनुभयो ।

“मुख्य भवन तयार भइसकेको छ, अक्सिजन पाइपलाइनको नयाँ भेरिएसनको अलिकति काम बाँकी छ,” उहाँले प्रगति सुनाउँदै भन्नुभयो–“सुरुको ठेक्काका शर्त बमोजिमका कामहरु सम्पन्न भइसके तापनि पछि दुईवटा भेरिएसनका काम थपिएका थिए । नयाँ भेरिएसनको बजेट मन्त्रालयले स्वीकृत गरेपछि छिटो काम सम्पन्न हुन्छ ।”

काठमाडौंको कन्टेन्ट प्रालिसँग अस्पताल भवन निर्माणको ठेक्का सम्झौता वि.सं. २०७४ मंसिर १० गते भएको थियो । सुरुमा रु. २२ करोड लागत अनुमान गरिए तापनि पछि लागत बढेर रु. २७ करोड पुगिसकेको छ । कोभिड–१९ को महामारीका कारण तोकिएको अवधिभन्दा केही ढिलोगरी भवनको निर्माण भएको छ ।

निर्माण व्यवसायी कम्पनीका इन्जिनियर राम श्रेष्ठका अनुसार दुई तलाको नयाँ भवनमा छ वटा ब्लक, दुई वटा लिफ्ट, चारवटा सार्वजनिक शौचालय, ५०० केभीएको ब्याकअप जेनेरेटर, पाँच वटा अपरेसन थिएटर, घेराबेरा पर्खालको निर्माण कार्य सम्पन्न भइसकेको छ । भवनको रङरोगन समेत भइसकेको छ ।

पुरानो भवन परिसरमा रहेको अक्सिजन प्लान्टबाट सडक पार गरेर ३०० मिटर टाढा रहेको नयाँ भवनमा पाइपलाइन विस्तार गर्नका लागि भेरिएसनको प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पुर्याइएको सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले जनाएको छ ।

नयाँ भवनको हरेक शैया र अपरेसन थिएटरमा पाइपलाइनबाट अक्सिजन आपूर्तिको व्यवस्था मिलाइने भएको छ । यसअघि पुरानो भवनमा पाइपलाइन नहुँदा सिलिन्डरबाट अक्सिजन आपूर्ति गरिन्थ्यो ।

उपकरण थपिए, जनशक्ति थपिएन

पहिलेदेखि अहिलेसम्म प्रादेशिक अस्पतालले भोगिरहेको सबैभन्दा ठूलो समस्या भनेको जनशक्तिको अभाव हो ।

केही वर्ष अघिसम्म जनशक्तिसँगै आधुनिक उपकरण र प्रविधिको अभाव थियो । अहिले केही उपकरण भित्रिएका छन्, तर जनशक्ति थपिएको छैन ।

अस्पतालका सूचना अधिकारी पोखरेलका अनुसार प्रादेशिक अस्पताल भद्रपुरमा सरकारी जनशक्तिको दरबन्दी १०३ जना हो । जसमध्ये आधा मात्र जनशक्ति स्वास्थ्य मन्त्रालयले पठाएको छ ।

“सरकारी दरबन्दी अनुसारको जनशक्ति नभए पनि विकास समिति र अन्य निकायबाट समेत गरी आवश्यक केही जनशक्ति थपेर अस्पतालको सञ्चालन भइरहेको छ”–उहाँले बताउनुभयो ।

अस्पतालको कर्मचारी संरचना अन्तर्गत हाल सरकारी, गैरसरकारी र विकास समिति अन्तर्गत २३९ जना कर्मचारीको दरबन्दी देखिन्छ । जसमा मेडिकल सुपरिन्टेन्डेन्टसहित २४ जना कन्सल्टेन्ट चिकित्सक, १५ जना मेडिकल अफिसर, ७७ जना नर्सिङ तथा पारामेडिक्स, २० जना ल्याब कर्मचारी, ५ जना रेडियोलोजिस्ट, १५ जना स्वीपर, १५ जना सुरक्षा गार्ड, ४१ जना कार्यालय सहयोगी लगायत रहेका छन् ।

मेडिकल सुपरिन्टेन्डेन्ट डा. टंक बाराकोटीले कुन कुन फाँटमा जनशक्ति अभाव छ भनेर मन्त्रालयमा लेखेर पठाइएको जनाउँदै मन्त्रालयबाट चाँडै केही जनशक्ति पठाइदिने आश्वासन पाएको बताउनुभयो ।

“पचास वर्षको दौरानमा सेवाग्राही र उपकरण धेरै थपिएको छ, तर दरबन्दी बढ्न सकेको छैन,” डा. बाराकोटीले भन्नुभयो–“स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि सेवाग्राहीको भीड थामिनसक्नु छ । सरकारले कुनै पनि हालतमा चिकित्सक, नर्स, ल्याब टेक्निसियन लगायतका कर्मचारी पठाउनै पर्ने अवस्था छ ।”

बिरामी भरिभराउ

चिकित्सक तथा कर्मचारीको जनशक्ति न्यून भए तापनि अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या बढेको बढ्यै छ । मुख्य भवनमा बिरामी जाँच्नका लागि कोठा अभाव भएकाले परिसरका अन्य साना भवनमा समेत हाल ओपीडी सेवा चलिरहेको छ ।

सूचना अधिकारी पोखरेलले औसत ९०० जना विरामीले अस्पतालको ओपीडी सेवा लिने र इमर्जेन्सीमा ५० जनाभन्दा धेरै भर्ना हुने गरेको बताउनुभयो । अस्पतालमा आएका सेवाग्राहीमध्ये ७० प्रतिशतले स्वास्थ्य बिमा कार्यक्रम अनतर्गत उपचार गराउँदै आएका छन् ।

अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट, १३ वटा मिर्गौला डायलासिस मेसिन, तीन वटा आइसीयु र २५ जटा एचडीयु मेसिन सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । सीटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी लगायतका सेवा अस्पतालमा उपलब्ध रहेको छ ।

नयाँ भवनमा आइसीयुको १५ वटा शैया, अपरेसन थिएटर चार वटा र २५ वटा पोस्ट अपरेटिभ शैया रहने उहाँले जनाउनुभयो ।

अक्सिजन प्लान्टको पाइपलाइन बिस्तार भएलगत्तै भवन हस्तान्तरण हुने र अस्पतालको ओपीडी र इनडोर सेवा नयाँ भवनबाट सञ्चालन गरिने तयारी भइरहेको अस्पतालका मेसु डा. बाराकोटीले बताउनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।