८ वैशाख २०८१, शनिवार

मेची उवासंघ चुनाव

कांग्रेस प्यानलबाट मोहन निरौला अध्यक्षको उम्मेद्वार

१३ माघ २०७९, शुक्रवार
Image

झापा, १३ माघ । मेची उद्योग वाणिज्य संघको अध्यक्षमा मोहन निरौला उम्मेद्वार बन्ने निश्चित भएको छ ।

नेकपा एमाले नेतृत्वको प्यानल र नेपाली कांग्रेस प्यानलबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।

नेपाली कांग्रेस प्यानलबाट अध्यक्ष पदमा निरौलाको नाम फाइनल भएको पार्टी स्रोतले जनाएको छ । उहाँ हाल संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

उहाँ मेची भन्सार एजेन्ट संघको समेत अध्यक्ष हुनुहुन्छ ।

‘अध्यक्ष लगायत पदाधिकारीमा उम्मेद्वार बन्ने साथीहरुको नाम पार्टीबाट फाइनल भइसक्यो,’ पार्टी स्रोतले भन्यो–‘सदस्यमा नाम मिलाउन बाँकी नै छ ।’

स्रोतका अनुसार काँंग्रेस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री उम्मेद्वार बन्नेछन् भने महासचिवमा रवि नेपालको नाम फाइनल भएको छ ।

क्षेत्री अध्यक्षको सशक्त दावेदार हुनुहुन्थ्यो । उहाँलाई अर्कोपटक अध्यक्षको उम्मेद्वार बनाउने भनेर अहिलेलाई वरिष्ठ उपाध्यक्षमै मनाइएको बताइएको छ ।

उद्योग उपाध्यक्षमा भुमि पौडेल, वाणिज्य उपाध्यक्षमा कञ्चन बराल र महिला उपाध्यक्षमा निर्मला भण्डारीको नाम प्रस्तावित गरिएको जनाइएको छ ।

सदस्यमा सन्तोष खवास, चन्द्र घोर्षाइ, विष्णु बुढाथोकी, कुमार न्यौपाने लगायतको नाममा सहमति भए तापनि सदस्यमा उम्मेद्वार बन्नेहरुको नाम मिलाउन बाँकी रहेको स्रोतले जनायो ।

नेपाली कांग्रेसले अहिले एकल रुपमा उम्मेद्वारको नाम फाइनल गरे तापनि अन्य दलसँग तालमेलका लागि सिट दिने रणनीति बनाएको देखिन्छ ।

पार्टीका एक जिम्मेवार नेताले नेकपा माओबादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग तालमेलका लागि अनौपचारिक कुराकानी भइरहेको दावी गर्नुभयो । 

माओबादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले नेकपा एमालेसँग तालमेल गरेर साझा उम्मेद्वार उठाउने चर्चा भइरहेका बेला कांग्रेसका नेताले त्यस्तो दावी गर्नुभएको हो ।

एमाले नेतृत्वको प्यानलबाट अध्यक्षमा खेमराज प्रसाई अध्यक्ष पदको उम्मेदवार घोषणा भइसक्नु भएको छ ।

महासचिवमा दिनेश शाक्य, उद्योग उपाध्यक्षमा आनन्द खड्का लगायतको नाम अघि सारिएको छ । एमाले स्रोतका अनुसार माओबादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँगको तालमेल लगभग निष्कर्षमा पुगिसकेको छ ।