१५ चैत २०८०, बिहिवार

पूर्वी नाकामै कोभिडसँगै मलेरिया र एचआइभी परीक्षण

१३ माघ २०७९, शुक्रवार
Image

 झापा, १३ माघ । स्वास्थ्य मन्त्रालयद्वारा पूर्वी नाका काँकडभिट्टाको मेची पुलमै राखिएको हेल्थ डेक्समा कोभिड–१९ सँगै एचआईभी, मलेरिया र क्षयरोगको समेत परीक्षण सुरु गरेको छ ।

विगत तीन बर्ष अघि कोभिड– १९ को चेकजाँच गर्न मेची पुलको मुखमै कार्यालय स्थापना गरेर राखिएको डेक्समा मन्त्रायलयकै निर्देशनमा यी रोगको पनि परीक्षण गर्न थालिएको हो ।

कार्यालयमा मन्त्रालयकै मातहतमा रहनु भएकी ल्याब असिस्टेन्ट शान्त भण्डारीले भारतलगायत तेस्रो मुलुकबाट आउनेहरुको शंका लागेमा चेकजाँच गर्ने गरिएको जानकारी दिनुभयो । उहाँले डेक्समा दैनिक पाँच देखि १५ जनासम्मको मलेरिया, तीनदेखि चार जनासम्मको एचआईभी टेष्ट गदैै आएको बताउनुभयो । “हामीलाई भारतलगायत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्नेहरुमध्ये शंका लागेको व्यक्तिको चेकजाँच गर्छौं”, उहाँले भन्नुभयो, “अन्य रोगको चेकजाँच गर्न सजिलै छ तर एचआईभी टेष्ट गराउन गाह्रो हुन्छ ।”

उहाँका अनुसार विशेष गरी डेक्समा भारतका विभिन्न स्थानबाट नेपालमा रोजगारीका लागि आउनेहरुको भने अनिवार्य रुपमा एचआईभी र मलेरियाको परीक्षण गरिएको छ । मन्त्रालयले एक जना अहेबसहित दुई जना कर्मचारीलाई सीमा डेक्समा खटाउँदै आएको छ ।

यसैगरी, सीमामा काउन्सिलिङ गर्न र कोभिडसँग अन्य रोगकाहरुको चेकजाँचकै लागि प्रदेश नम्बर १ को स्वास्थ्य मन्त्रालयले समेत एक जना ल्याब असिस्टेन्टको व्यवस्था गरेको छ । मेचीनगर नगरपालिकाले चार जना स्वास्थ्यकर्मीलाई सीमा विगत तीन बर्षदेखि नै खटाउँदै आएको छ । “दैनिक यो नाकाबाट नेपाल प्रवेश गर्नेको संख्या दुई तीन सयबढी छ”, प्रदेश मन्त्रालयबाट खटाइएकी ल्याब असिस्टेन्ट रक्षा देउजाले भन्नुभयो, “जनशक्ति अभावले काम गर्न कठिनाई भइरहेको छ ।”