१६ चैत २०८०, शुक्रवार

मेउवासंघ चुनाव

सत्तारुढ चार दलको आह्वान–‘सबै मिलेर साझा नेतृत्व छानौं’

१४ माघ २०७९, शनिवार
Image

मेचीनगर, १४ माघ । मेची उद्योग वाणिज्य संघको आसन्न चुनावमा उद्योगी व्यवसायीहरुको साझा नेतृत्व चयन गर्न नेकपा एमालेसहित सत्तारुढ चार दलले सार्वजनिक आह्वान गरेका छन् ।

आह्वान गर्ने दलहरुमा नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजबादी पार्टी (जसपा) रहेका छन् ।

आज चारै दलका मेचीनगर अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरी उक्त आह्वान गरेका हुन् । विज्ञप्तिमा एमालेका राजु पोखरेल, माओबादीका राजन चिमरिया, रास्वपाका भीमबहादुर कुँवर र जसपाका ओमप्रकाश खापुङले हस्ताक्षर गर्नुभएको छ ।

के छ विज्ञप्तिमा ?

सत्तारुढ चार दलले मुलुक कोरोना महामारी लगत्तै आर्थिक मन्दीले थिलथिलो भएको बेला उद्योगी व्यवसायीहरुको साझा संस्था मेची उद्योग वाणिज्य संघमा सबै दल, विचार र समुदायमा आवद्ध व्यवसायी मिलेर साझा नेतृत्व चयन गर्दै अघि बढ्न आवश्यक रहेको विज्ञप्तिमा निष्कर्ष निकालिएको छ ।

आर्थिक संकटको सबै मिलेर साझा रुपमा सामना गर्नुपर्ने दायित्व नबिर्सन स्मरण गराउँदै चार दलको विज्ञप्तिमा नगरका सबै राजनीतिक दलहरुलाई दलीय स्वार्थभन्दा माथि उठेर संघलाई साझा नेतृत्व प्रदान गर्नुपर्ने जनअभिमतको पक्षमा एकैठाउँमा उभिन आह्वान गरिएको छ ।

नेकपा एमालेका झापा क्षेत्र नं. १ का संयोजक टिकाराम मग्रातीले व्यावसायिक हितका लागि साझा नेतृत्व चयन गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई सहमतिमा आउन सत्तारुढ चार दलले आज आह्वान गरेको बताउनुभयो ।

यो आह्वान कांग्रेस र राप्रपाका लागि पनि हो ? भन्ने प्रश्न गर्दा एमाले नेता मग्रातीले भन्नुभयो–‘हो नि, सबै राजनीतिक दललाई आह्वान गर्नु भनेको उहाँहरुलाई पनि हो भन्ने प्रष्टै छ । कांग्रेस र राप्रपा पनि सहमतिमा आउने हामीले अपेक्षा गरेका छौं ।’

मुलुकमा आर्थिक संकट गहिरिदै गएको र तनाव थेग्न नसकेर आत्महत्यासम्मका घटना हुन थालेको विषम परिस्थितिमा व्यवसायीहरुको आर्थिक हित र सुरक्षाका लागि पनि सबै दलहरुबीच साझा धारणा बन्नुपर्ने टड्कारो खाँचो रहेको मग्रातीले बताउनुभयो ।

उम्मेद्वारी दर्ता माघ १६ गते

निर्वाचन समितिले माघ २१ गते हुने मेची उद्योग वाणिज्य संघको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

जस अनुसार माघ १६ गते उम्मेद्वारको मनोनयन पत्र दाखिला हुनेछ भने माघ २१ गते मतदान हुनेछ ।

संघको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, तीन उपाध्यक्षसहित १६ पदका लागि चुनाव हुन गइरहेको छ । निर्वाचनपछि सचिव र पाँच जना सदस्य मनोनित हुनेछन् ।