१२ वैशाख २०८१, बुधवार

फागुन १ गते मेची पुलमा के गर्दै हुनुहुन्छ प्रसाई ?

१६ माघ २०७९, सोमवार
Image

झापा, १६ माघ । अभिब्यक्तिका कारण चर्चामा छाइरहने स्वास्थ्य उद्यमी दुर्गा प्रसाईले आउँदो फागुन १ गते मेची–महाकाली अभियान सुरु गर्ने उद्घोष गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक विवरण अनुसार उहाँको अभियानको उद्देश्य हिन्दुराज्य पुनःस्थापना समेत रहेको छ ।

फागुन १ गते मेची नदीको पुलबाट हातमा दीयो बोकेर उहाँले देशब्यापी अभियान थाल्नुहुने बताइएको छ ।

यस बारेमा झापामा भने उहाँले कुनै पत्रकार सम्मेलन वा कार्यक्रमको पूर्वतयारी गरेको पाइएको छैन ।

उहाँकै फेसबुक पेजमा दिइएको जानकारी अनुसार हिन्दु धर्म र संस्कृतिको रक्षा र बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिको विरोधलाई समेत अभियानको एजेन्डा बनाइएको छ ।

सत्तारुढ नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनु भएको प्रसाईले यसै सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व राजकुमार पारस शाहलाई (सम्भवतः माघ २ गते) भेट्नु भएको छ ।

पूर्व राजपरिवारसँगको भेटघाट बारेका केही विवरण सार्वजनिक भएका छैनन् । पूर्वराजासँगको भेटघाट र अभियानले प्रसाई राजाबादी लाइनतिर लाग्नु भएको हो कि भन्ने शंका जन्मिएका छन् ।

यसैबीच, अभियानकै प्रचारका क्रममा उहाँले माघ १२ गते पोखरा सभागृहमा उद्योगी व्यवसायीहरु सहभागी एउटा कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै पूर्वराजा शाहलाई मेची–महाकाली अभियानको उद्घाटनका दिन फागुन १ गते मेची पुलमा आउन निम्तो दिएको बताउनुभएको छ ।

सभामा बोल्दै प्रसाईले मुलुकमा फेरि नयाँ शिराबाट एकीकरणको आवश्यकता रहेको जिकीर गर्नुभएको थियो ।