७ वैशाख २०८१, शुक्रवार

मेची उवासंघ चुनाव

एमाले नेतृत्वको गठबन्धनमा थपिए राप्रपा र एकीकृत समाजबादी

१५ माघ २०७९, आइतवार
Image

मेचीनगर, १५ माघ । मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा नेकपा एमाले नेतृत्वको गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजबादी पनि मिसिएको छ ।

लामो अवधिदेखि नेपाली कांग्रेसको वर्चस्वमा रहेको संघमा साझा नेतृत्व निर्वाचित गर्ने उद्देश्यले बनाइएको दावी गरिएको गठबन्धनमा अब ६ वटा राजनीतिक दल मोर्चाबन्दी भइसकेका छन् ।

आज राप्रपा र एकीकृत समाजबादी पनि साझा उम्मेद्वार बनाउन सहमत भएको नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले बताउनुभयो ।

‘प्रमुख राजनीतिक शक्तिहरु एकैठाउँमा उभिएर सहमतिमा उम्मेद्वार चयन गरौं भनेर हामीले नेपाली कांग्रेसलाई पनि आह्वान गरेका छौं,’ पोखरेलले भन्नुभयो–‘तर, अहिलसम्म कांग्रेसले इच्छा देखाएको छैन । मेचीनगरमा क्रियाशील बाँकी सबै राजनीतिक दल अब एउटै धारणा र मोर्चामा गठबन्धित भएका छौं ।’

नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजबादी पार्टी पहिले नै मोर्चाबन्दी भइसकेका छन् ।

आज राप्रपा र एकीकृत समाजबादीे नेतृत्वसहित छ राजनीतिक दलको संयुुक्त बैठक बसेर साझा उम्मेद्वार बनाउने सहमति भएको बैठकमा सहभागी नेकपा माओबादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरियाले जानकारी दिनुभयो ।

बैठकमा एमालेका केन्द्रीय विभागका सदस्य सन्तोष आचार्य, झापा १ का क्षेत्रीय अध्यक्ष टिका मग्राती, नगर अध्यक्ष राजु पोखरेल सहभागी हुनुभएको थियो भने नेकपा माओबादी केन्द्रबाट झापा १ का क्षेत्रीय अध्यक्ष प्रकाश भण्डारी र नगर अध्यक्ष राजन चिमरिया सहभागी हुनुहुन्थ्यो ।

राप्रपाका नगर सचिव विशालकृष्ण बाँस्कोटा र नेकपा एकीकृत समाजबादीका जिल्ला सचिव वीपी भट्टराई सहभागी हुनुहुन्थ्यो ।

संघको माघ २१ गते हुने निर्वाचनका लागि माघ १६ गते उम्मेद्वारहरुको मनोनयन गर्ने कार्यक्रम रहेको छ ।