१५ चैत २०८०, बिहिवार

मेची उवासंघ चुनाव

संस्थापक जैन माओबादी प्रस्तावमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वार

१६ माघ २०७९, सोमवार
Image

मेचीनगर, १६ माघ । मेची उद्योग वाणिज्य संघको पदाधिकारी बन्न व्यावसायिक क्षेत्रका पुराना अगुवाहरु समेत आकांक्षी बन्न थाल्नु भएको छ ।

जसको उदाहरण हुनुहुन्छ संघका संस्थापक पन्नालाल जैन । उमेरले निकै पाको भए तापनि उहाँ यसपटकको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार बन्दै हुनुहुन्छ ।

मेची उद्योग वाणिज्य संघ स्थापना हुनुअघि तत्कालीन धुलाबारी गाविसमा धुलाबारी वाणिज्य संघ र काँकरभिट्टा गाविसका काँकरभिट्टा वाणिज्य संघ थियो ।

दुबै गाविस समेटेर २०५३ सालमा मेचीनगर नगरपालिका गठन भएपछि दुबै संघलाई एकीकरण गरी मेची उद्योग वाणिज्य संघ स्थापना गरिएको थियो ।

त्यसैले मेची उद्योग वाणिज्य संघले अगुवा व्यवसायी पन्नालाल जैनलाई संघको संस्थापक मान्दै आएको छ ।

यसपाली चुनावमा नेकपा एमाले र नेपाली कांग्रेसको नेतृत्वमा दुई प्यानलबीच चुनावी प्रतिष्पर्धा हुँदैछ । एमालेले सत्तारुढ पाँच दल र विपक्षी नेकपा एकीकृत समाजबादीलाई समेटेर वृहत गठबन्धन निर्माण गरेको छ ।

सोही गठबन्धनको सहमतिमा वरिष्ठ उपाध्यक्ष पद नेकपा माओबादी केन्द्रका तर्फबाट चयन गर्ने भनिएको थियो ।

माओबादीले संघकै संस्थापक जैनलाई वरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

‘नेपाल बंगलादेश चेम्बर अफ कमर्सका पनि संस्थापक अध्यक्ष जैनलाई हाम्रो तर्फबाट वरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा उम्मेद्वार बनाउन पाउँदा खुशी लागेको छ’–नेकपा माओबादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले बताउनुभयो ।

धार्मिक स्वाभावका जैन राजनीति कम र व्यावसायिक क्षेत्रमा बढी चासो राख्नुहुन्छ । उहाँको उम्मेद्वारीले निश्चय नै चुनाव रोचक हुनेछ । उहाँको प्रतिष्पर्धा भने नेपाली कांग्रेसबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वार घोषित सशक्त युवा व्यवसायी कपिल क्षेत्रीसँग हुनेछ ।