१५ वैशाख २०८१, शनिवार

मेचीउवासंघ

साझा उम्मेद्वारको नाम घोषणा

१६ माघ २०७९, सोमवार
Image

मेचीनगर, १६ माघ । मेची उद्योग बाणिज्य संघको यहि माघ २१ गते हुने निर्वाचनका लागि ६ राजनीतिक दलले बनाएको व्यवसायीहरुको साझा गठबन्धनका उम्मेद्वारहरुको नाम घोषणा गरेको छ ।

सोमबार धुलाबारी स्थित रोयल निर्वाणमा आयोजित कार्यक्रममा नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टील संघको आसन्न निर्वाचनमा साझा उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको हो ।

साझा गठबन्धनबाट नेकपा एमालेबाट अध्यक्षमा खेमराज प्रसाई, नेकपा माओवादी केन्द्रबाट बरिष्ठ उपाध्यक्षमा पन्नालाल जैन, उद्योग उपाध्यक्षमा एमालेका आनन्द खड्का, बाणिज्य उपाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट भीमबहादुर कुँवर र महिला उपाध्यक्षमा राप्रपाबाट सुनिता शर्मा, महासचिवमा एमालेका दिनेश शाक्य उम्मेद्वार बनेका छन् ।

त्यसैगरी, सदस्यहरुमा एमालेबाट दिपेन्द्रराज पाण्डे, केपी शिवाकोटी, भीम विष्ट, गोपालप्रसाद गुप्ता र कृष्णकुमारी सुवेदी छन् । 

यता माओवादी केन्द्रबाट श्रवणकुमार बानियाँ र पवित्रा तिवारी, राप्रपाबाट ललित अग्रवाल, रास्वपाबाट इन्द्रप्रसाद भण्डारी र नेकपा एकीकृत समाजवादीबाट श्रवणकुमार साह उम्मेदवार बनेका छन् ।

व्यवसायीहरुको ६ दलिय साझा गठबन्धनमा जनता समाजवादी पार्टी नेपालले समर्थन मात्र गरेको छ । उसले आफ्नो उम्मेद्वार उठाएको छैन ।

साझा गठबन्धनका उम्मेद्वारहरुको नाम घोषणा कार्यक्रममा एमाले क्षेत्र नम्बर १ का संयोजक टीकाराम मंग्राती, माओवादी केन्द्रका क्षेत्र नम्बर १ का संयोजक माधव अर्याल, रास्वपाका मेचीनगर सचिव कमल गौतम, राप्रपा मेचीनगर सचिव विशालकृष्ण बाँस्कोटाले संघको २५ वर्षे इतिहासमा २१ वर्षसम्म कांग्रेसको नेतृत्वमा व्यवसायीको हित नभएकोले साझा गठबन्धनका उम्मेद्वारहरुले पारदर्शिता र व्यवसायीको हितमा काम गर्न सुझाव दिएका थिए ।

अध्यक्ष पदका उम्मेद्वार प्रसाईले प्रतिबद्वता मन्तव्य र महासचिव पदका उम्मेद्वार शाक्यले १६ उम्मेद्वारको १६ बुँदे साझा संकल्प प्रस्तुत गरेका थिए । 

कार्यक्रमको संचालन माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरियाले गरेका थिए ।