१२ साउन २०८१, शनिवार

मेची उवासंघ चुनाव

धुलाबारीकै दुई ‘वरिष्ठ’बीच रोचक भिडन्त

१६ माघ २०७९, सोमवार
Image

मेचीनगर, १६ माघ । मेची उद्योग वाणिज्य संघको चुनावमा वरिष्ठ उपाध्यक्षमा धुलाबारीकै दुई प्रभावशाली व्यवसायीबीच रोचक भिडन्त हुने भएको छ ।

एकातिर छ दलीय साझा उम्मेद्वारको रुपमा संघका संस्थापक पन्नालाल जैन नै वरिष्ठ उपाध्यक्षको उम्मेद्वार बन्नुभएको छ ।

अर्कातिर, कांग्रेसको लोकतान्त्रिक समूहबाट कपिल क्षेत्री (किशोर)ले वरिष्ठ उपाध्यक्ष पदमा आज उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

धुलाबारीलाई आधार मानेर दुबै व्यवसायी बिगतमा एउटै विचार समूह (कांग्रेस)मा हुनुहुन्थ्यो । तर, जैनले कांग्रेस त्याग्नु भएको छ ।

यसअघि उपाध्यक्ष पद सम्हालिसक्नु भएको क्षेत्री कांग्रेसको प्यानलबाट अध्यक्ष बन्ने चर्चा थियो । तर, सो प्यानलबाट अध्यक्षमा काँकरभिट्टाका अर्का प्रभावशाली व्यवसायी मोहन निरौला उम्मेद्वार बन्ने भएपछि क्षेत्री वरिष्ठ उपाध्यक्षका लागि तयार हुनुभयो ।

यो पदका लागि प्रतिष्पर्धा किन पनि रोचक हुनेछ भने दुबै धुलाबारीका हुनुहुन्छ । कूल १८१७ मतदातामध्ये आधाभन्दा बढी मतदाता धुलाबारीकै रहेका छन् ।

क्षेत्री कांग्रेसभित्र मात्र होइन, अन्य दलका समर्थकमाझ समेत उत्तिकै लोकप्रिय मानिनुहुन्छ । त्यसैले छ दलीय गठबन्धन उहाँको उम्मेद्वारी बलियो हुने अनुमान गरेरै बलियो प्रतिष्पर्धीको खोजीमा थियो ।

गठबन्धनमा नेकपा माओबादी केन्द्रको भागमा यो पद परेको थियो । माओबादीले संघकै संस्थापक पन्नालाल जैनलाई उभ्याउन सफल भएको छ ।

जैन मारवाडी समुदायमाझ लोकिप्रय रहेको र उहाँको परम्परागत दोस्तीका कारण धेरै मत तान्न सक्ने गठबन्धनका नेताहरुको दावी छ ।

अध्यक्षको दावी गर्दागर्दै वरिष्ठ उपाध्यक्ष पदमा चित्त बुझाउनु परेको हुँदा क्षेत्रीप्रति मतदाताको सहानुभूति बढ्न सक्ने कांग्रेस मतदाताको आशा छ ।

त्यसैगरी, संस्थापक नै वरिष्ठ उपाध्यक्षमा बस्न राजी हुनु भनेको संघलाई सन्तुलित र वजनदार बनाउन मतदाताले जैनलाई रोज्ने अपेक्षा छ दलीय गठबन्धन पक्षधरहरुको ।