८ वैशाख २०८१, शनिवार

कालिका सामुदायिक वनको साधारण सभा

१८ माघ २०७९, बुधवार
Image

मेचीनगर, १८ माघ । कालिका सामुदायिक वन उपभोक्ता समूह मेचीनगर–११ र १२ को २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार समूहका अध्यक्ष योगराज भट्टराईको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकी थिए ।

साधारण सभामा अध्यक्ष भट्टराईले आ.व.२०७९÷०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । आर्थिक वर्ष २०७८÷०७९ मा सम्पन्न गर्न बाँकी रहेका योजनाहरु यो वर्ष पुरा गरिने उनको भनाई थियो ।

भट्टराईका अनुसार वन समूहको मुख्य आम्दानी श्रोत भनेको गोलिया काठ बिक्री वितरण हो । काठ बिक्रीका लागि समयमा नै आदेश प्राप्त नभएका कारण गरिबी न्यूनीकरण कार्यक्रमतर्फको अति विपन्न उपभोक्तहरुलाई ग्यास वितरण, घर निर्माण कार्य, जस्तापाता, बाख्रा तथा सुंगुर पाठा, खाट वितरण गर्न नसकिएको उनले बताए ।

कालिका सिमसारतर्फ यस वर्षबाट लागूहुने गरी वार्षिक निती तथा कार्यक्रममा उपभोक्ता सदस्य घरधुरीमा आवद्ध सम्पूर्ण उपभोक्तालाई कालिका सिमसार अवलोकन तथा मनोरञ्जन गर्न प्रति घरधुरीलाई सदस्यता परिचय पत्र वितरण गरि प्रवेश तथा मनोरञ्जन गर्न सहज वातावरण बनाउने बताएका छन् ।

उनले मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्ने हेतुले वन समुहको खाली वन क्षेत्रमा १ घर १ कोला र १ बाँसको बिरुवा वृक्षरोपण गर्न उपभोक्तालाई आग्रहसमेत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, मेचीनगर नगरपालिका–११ का वडाध्यक्ष रुद्र डाँगी, मेचीनगर नगरपालिका–१२ का वडाध्यक्ष मधुसुदन निरौला, नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरिया, मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य अमित खम्बू लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका मेयर बुढाथोकीले कालिका सामुदायिक वनले सिमसार क्षेत्रको विकाससँगै आकर्षक पर्यटकीय संरचनाहरु निर्माण गरेर नगरमा उदाहरणीय कार्य गरेको बताए ।

कार्यक्रमको स्वागत समूहका उपाध्यक्ष संगीता चौधरीले र सञ्चालन सहसचिव खेमराज राईले गरेका थिए ।