१२ वैशाख २०८१, बुधवार

मेउवासंघ चुनाव

दलीय रुझानकै आधारमा अध्यक्षको रोचक प्रतिष्पर्धा

१८ माघ २०७९, बुधवार
Image

मेचीनगर, १८ माघ । मेची उद्योग वाणिज्य संघको आसन्न चुनावमा अध्यक्षमा मोहन निरौला र खेमराज प्रसाईबीच दलीय रुझानकै आधारमा प्रतिष्पर्धा हुने भएको छ ।

निरौला काँकरभिट्टाका र प्रसाई धुलाबारी निवासी हुनुहुन्छ । दुबै जनाले संघको पदाधिकारी तहको जिम्मेवारी अनुभव गरिसक्नु भएको छ ।

नेपाली कांग्रेसको लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेद्वार निरौला मेची भन्सार एजेन्ट संघको अध्यक्ष पनि हुनुहुन्छ ।

विभिन्न व्यापार र सामाजिक गतिविधिमा लामो समयदेखि लाग्नु भएको उहाँले तीन वर्ष अघि नै अध्यक्षको उम्मेद्वार बन्ने चाहना राख्नु भएको थियो ।

तर, पार्टीले पुनित बंशललाई उम्मेद्वार बनाएर एक कार्यकाल धैर्य गर्न आग्रह गरेपछि उहाँ वरिष्ठ उपाध्यक्षको उम्मेद्वार बन्नुभएको थियो । 

उसबेला कांग्रेसको लोकतान्त्रिक समूहबाट अध्यक्षको उम्मेद्वार पराजित भए तापनि निरौला बिजयी बन्नुभएको थियो ।

दलीय शैलीको चुनावमा यसपाली कांग्रेस एक्लै मैदानमा छ । तथापि व्यावसायिक क्षेत्रमा कांग्रेस समर्थकको संख्या धेरै भएकाले चुनाव जित्न एक्लै पनि गाह्रो नहुने लोकतान्त्रिक पक्षधरहरुको दावी छ ।

यसैगरी, नेकपा एमाले, नेकपा माओबादी, रास्वपा, राप्रपा, जसपा र नेकपा एससहित छ दलीय गठबन्धन बनाएर चुनावमा साझा उम्मेद्वार खडा गरेको सत्तारुढ गठबन्धनका तर्फबाट अध्यक्ष पदमा धुलाबारीका खेमराज प्रसाई उम्मेद्वार हुनुहुन्छ ।

कोरोना महामारी र आर्थिक मन्दीका कारण व्यवसायीहरु चर्को पीडामा परेका बेला राजनीतिक दलहरुले फुटेर होइन, जुटेर साझा उम्मेद्वार बनाउनु पर्छ भन्ने निष्कर्षका साथ यो गठबन्धनले चुनावमा मत मागिरहेको छ ।

नेपाल कुचो व्यवसायी संघको १८ वर्षसम्म अध्यक्ष रहनु भएको प्रसाई नेपाल भेनियर संघ, नेपाल प्लाइउड संघ लगायतका विभिन्न उद्योग व्यापारमा सक्रिय हुनुहुन्छ ।

व्यवसायीको नेतृत्व खास व्यवसायीले नै गर्नुपर्छ भन्ने आम व्यवसायीको चाहना भएकाले आफुले चुनाव जित्ने प्रसाईको दावी छ ।