१३ वैशाख २०८१, बिहिवार

मेचीउवासंघ चुनाव

साना व्यवसायीको हितमा काम गर्छु : आनन्द खड्का

१९ माघ २०७९, बिहिवार
Image

मेचीनगर, १९ माघ । उद्योग उपाध्यक्षका उम्मेद्वार आनन्द खड्काले आफु साना, घरेलु र मझौला उद्योगीको पक्षमा काम गर्न उम्मेद्वार बनेको बताउनु भएको छ ।

छ दलीय गठबन्धनको तर्फ उद्योग उपाध्यक्ष पदका उम्मेद्वार खड्का मेचीनगरको भेनियर तथा प्लाइउड उद्योगी हुनुहुन्छ ।

मेची उद्योग वाणिज्य संघमा गएर गर्नुपर्ने र गर्न सकिने धेरै काम भएको जनाउँदै उहाँले सबैभन्दा पहिला घरेल र साना उद्योगको संरक्षणमा ध्यान दिने दोहोर्याउनु भयो ।

‘व्यवसायीहरुले साना साना उद्योग व्यवसायमा लाखौं लगानी गर्नुभएको छ, तर लगानीको सुरक्षाको कुनै ग्यारेन्टी छैन,’ उहाँले चुनावी प्रतिबद्धता सुनाउँदै भन्नुभयो–‘म मेचीनगरका आम व्यवसायीहरुलाई भन्न चाहन्छु कि चुनाव जितेर गएपछि म तपाईहरुको लगानीको सुरक्षा र व्यवसायको प्रवर्धनमा मेरो सम्पूर्ण ध्यान लगाउनेछु ।’

उहाँले गाईपालनमा लागेका कृषि व्यवसायीहरु आज अनेकन मारमा परिरहेको र तिनीहरुको समस्याका विषयमा व्यवसायिक फोरमहरुमा त्यति आवाज उठ्न नसकेको आफुलाई थाहा भएको बताउनुभयो ।

‘गाई पाल्नुहोस्, या कुनै ठूलो उद्योग खोल्नुहोस्,’ उहाँको भनाई छ–‘धेरै समस्याहरु मिल्दाजुल्दा नै छन् । बैंकले चर्को व्याज लगाएको छ । बिमाको व्यवस्था छैन । समस्या परेका बेला व्यवसायीको हकहितमा बोलिदिने कोही हुँदैन ।’

तर, आफु घुम्ने कुर्सीमा बस्न या मान सम्मान पाउनका लागि मेची उद्योग वाणिज्य संघमा जाने रहर नगरेको जनाउँदै व्यवसायीहरुको पीरमर्काको समाधानका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो ।

कुनै पनि व्यवसाय या उद्योग सुरु गर्दा निकै झञ्झटिलो प्रक्रिया व्यहोर्नु पर्ने अवस्था विद्यमान रहेको उल्लेख गर्दै उहाँले वातावरणीय प्रभाव मूल्यांकन (आइईई)लाई सरल र सहज बनाउने वातावरण आफुले जितेर गएपछि तयार पार्ने दावी गर्नुभयो ।

मेची उद्योग वाणिज्य संघले नगरभित्र उद्योग र व्यापार स्थापना, सञ्चालन र प्रवर्धनको उर्वर वातावरण तयार पार्न सघाउनु पर्ने उहाँको भनाई थियो ।

‘म आफु उद्यमी भएको हुँदा नयाँ नयाँ प्रकृतिका उद्योग व्यवसाय खोल्नका लागि प्रेरित गर्ने वातावरण बनाउनु मेरो प्राथमिकता हुनेछ–उहाँले भन्नुभयो । मकैको खोया र नरिवलको बोक्राबाट मल बनाउने उद्योग नगरभित्रै खोलेर रोजगारी सिर्जना गर्ने उहाँको प्रतिवद्धता रहेको छ ।  

धुलाबारी, काँकरभिट्टा, इटाभट्टा, चारआली लगायतका बजारहरु कम्तीमा बेलुकीको सात बजेसम्म खुलाउने र कतिपय अवस्थामा रात्रिकालीन बजार लगाउने वातावरण आफुले तयार पार्ने उहाँले बताउनुभयो ।

बजारहरुको सुरक्षाका लागि सीसी क्यामेरा जडान गर्ने, काँकरभिट्टाको मिनी मार्केटलाई व्यवस्थि तगर्ने, मिनी मार्केटमा बर्खामा पानी जमेर सामान भिज्ने अवस्थाको अन्त्य गर्ने, बजारहरुमा ढल र सरसफाइको राम्रो व्यवस्था मिलाउन पहल गर्ने उहाँको प्रतिवद्धता रहेको छ ।

उहाँले सबै व्यवसायी र उद्यमीबाट आफुले विश्वासको मत पाउने र जित्ने समेत दावी गर्नुभएको छ ।