१६ चैत २०८०, शुक्रवार

महेन्द्र राजमार्ग यातायात कर्मचारी कोषको पद हस्तान्तरण

२० माघ २०७९, शुक्रवार
Image

काँकरभिट्टा, २० माघ । महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कोषको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन समिति संयोजक डिल्लीराम घिमिरेले नवनिर्वाचित अध्यक्ष मोहन रिजाल लगायत पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

संयोजक घिमिरेको सभापतित्व तथा मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोषका निवर्तमान अध्यक्ष विष्णु गौतमले नवनिर्वाचित अध्यक्ष रिजाललाई माइन्यूट हस्तान्तरण गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले यातायात व्यवसायीको हक, हित र सुरक्षाका लागि स्थानीय सरकारले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताए ।

यातायात मजदुरका समस्यालाई नजिकबाट नियालेका नगरप्रमुख बुढाथोकीले कोषले यातायात मजदुर र व्यवसायीहरुको सुरक्षाका लागि सञ्चालन गर्दै आएको कामको समेत प्रशंसा गरेका थिए ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष रिजालले व्यवसायिको हक, हित र सुरक्षाका लागि आफू र आफ्नो टिम निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेश १ का पूर्व प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नेपाल यातायात राष्ट्रिय व्यवसायीक महासंघका उपाध्यक्ष राजेन्द्र रिजाल, पूर्वी मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, पूर्वी नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष केशव गिरी, नेपाल यातायात स्वतन्त्र मजदुर संघ मेचीनगर अध्यक्ष विशाल तामाङ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर अध्यक्ष राजकुमार सुवेदी, नेपाल ट्रेड यूनियन महासंघ मेचीनगर अध्यक्ष एकराज तिम्सिना लगायतले विभिन्न क्षेत्रका यातायात व्यवसायीहरुको सहभागिता रहेको थियो ।

निर्वाचन समिति सदस्य प्रलाद श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सूर्यप्रकाश उप्रेतीले गरेका थिए ।

शुक्रबार सम्पन्न कोषको निर्वाचनबाट तीन वर्ष कार्यकालका लागि अध्यक्षमा यातायात व्यवसायी मोहन रिजाल निर्वाचित भएका थिए । 

नयाँ नेतृत्वको लागि अध्यक्ष र सचिव पदमा चुनावी प्रतिष्पर्धा भएको थियो भने सल्लाहकार सहित अन्य पदमा सर्वसम्मत चयन गरिएको थियो ।

संघको उपाध्यक्षमा बलिमान गुरुङ, सचिवमा डिल्लीबहादुर कार्की, सहसचिवमा वासुदेव कार्की र कोषाध्यक्षमा शान्त घिमिरे तथा सदस्यहरुमा दुर्गा खड्का, सुमित्रा बिमली (ढुंगाना), कृष्णकुमार बस्नेत, घनश्याम श्रेष्ठ, नरेशकान्त सरकार र अमरबहादुर बस्नेत सर्वसम्मत निर्वाचित भएका थिए ।

अधिवेशनले सल्लाहकार समितिको संयोजकमा नविनकुमार श्रेष्ठ तथा सदस्यहरुमा बुद्धिराज राई र मोहनकुमार प्रसाईलाई सर्वसम्मत चयन गरेको थियो ।