१२ वैशाख २०८१, बुधवार

सहमति नभए बहुमतबाटै प्रदेश नामाकरण : मुख्यमन्त्री कार्की

२१ माघ २०७९, शनिवार
Image

झापा, २१ माघ । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताउनुभएको छ ।

झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको सहमतिबाट नामाकरण गर्ने आफ्नो योजना बताउनुभयो ।

“अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौं” उहाँले भन्नुभयो–“सहमति जुटेन भने बहुमतबाट भए पनि नामाकरण चाहिँ गर्नेछौं ।” 

प्रदेश नं. १ बाहेक छ वटै प्रदेशको नामाकरण भइसकेको छ । राजनीतिक दलहरुबीच सहमति बन्न नसक्दा प्रदेश नं. १ को नामाकरण बाँकी रहेको हो ।

यसअघि प्रदेश नं. १ को नामाकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको दावी गर्दै नेकपा एमाले स्थायी कमिटीका सदस्य समेत रहनु भएको मुख्यमन्त्री कार्कीले भन्नुभयो–“हाम्रा कारणले नामाकरण रोकिएको होइन ।”

उहाँले प्रदेश नं. १ मा पुरानो सञ्चार प्रतिष्ठान व्युँताउने जानकारी दिनुभयो । मुख्यमन्त्री कार्की प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री हुनुहुन्थ्यो । त्यसबेला आफुले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसंग जोड्दै उहाँले अब कानून नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताउनुभयो ।

पत्रकार उपचार कोष सञ्चालन र पेशागत सुरक्षाका लागि प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल र पत्रकारहरुको संघ संगठनहरुसँग परामर्श गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अग्रज पत्रकारहरु सम्मानित

प्रेस चौतारी झापाले आज प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारहरुलाई सम्मानित गरेको छ । मुख्यमन्त्री कार्कीले सबै अग्रज पत्रकारहरुलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।

सम्मानित अग्रज पत्रकारहरुमा नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल रहनु भएको छ । 

पाठक प्रेस चौतारी झापाका प्रथम अध्यक्ष हुनुहुन्छ । काजी, क्षेत्री र आचार्य झापाको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्याएका अग्रज हुनुहुन्छ । पकुवाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको हो ।