१५ चैत २०८०, बिहिवार

आर्थिक समस्या जनाउँदै छोरीको हत्यापछि आत्महत्या

२२ माघ २०७९, आइतवार
Image

झापा, २२ माघ । आर्थिक समस्या परेको सुसाइड नोट लेखेर एक व्यक्तिले छोरीको हत्यापछि आत्महत्या गरेका छन् ।

घटना काठमाडौंको पुरानो बानेश्वरको हो । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत हिजो भेटिएको हो ।

बानेश्वर प्रहरी वृत्तका डीएसपी निशान श्रीवास्तवका अनुसार शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको हो । 

प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको उनको भनाइ छ ।

बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । छोरी शारीरिकरुपमा अशक्त थिइन् ।

घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए ।

प्रहरीले घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाएको थियो ।

घरमा चार जनाको परिवार बस्दै आएको भए पनि शनिबार अरु दुई जना बाहिर थिए ।

प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।