१५ चैत २०८०, बिहिवार

उपचुनाव नजितेसम्म कुनै पदमा जान्न : रवि

२२ माघ २०७९, आइतवार
Image

झापा, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताउनुभएको छ ।

सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भन्नुभयो– ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्न ।’ 

उहाँले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनको अधिकांश समय उहाँले मिडियाको आलोचनामा खर्चिनुभयो ।

उहाँले अनलाइन खबरका सम्पादक शिव गाउँले, कान्तिपुरका प्रकाशक कैलाश शिरोहिया, सेतोपाटीका सम्पादक अमित ढकाल, अन्नपूर्ण पोस्टका प्रकाशक रामेश्वर थापा लगायतको नामै किटेर व्यक्तिगत टिप्पणी समेत गर्नुभयो ।

‘मिडियाले देश चलाउने होइन, नेताहरुले चलाउने हो’–उहाँको भनाई थियो ।