२३ भदौ २०८१, आइतवार

ढुंगा–गिटी ठेक्का प्रकरण

ठेकेदारले नै लगाइदिए नगरपालिकाको मूलढोकामा ताला

२३ माघ २०७९, सोमवार
Image

मेचीनगर, २३ माघ । हडिया खोलामा ढुंगा–गिटीको ठेक्का लगाएर पनि सम्झौता नगरेको भन्दै निर्माण व्यवसायी (ठेकेदार)ले आज मेचीनगर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

बिर्तामोड–१० को फाल्गुना निर्माण सेवाका सञ्चालक जीवन ढुंगेलको नेतृत्वमा गएको टोलीले हडिया खोलामा ढुंगा–गिटीको ठेक्का लगाएर पनि सम्झौता नगरेको भन्दै नगरपालिकाको मुख्य गेटमा दिउँसो करिव ३ घण्टा तालाबन्दी गरेको थियो ।

ठेक्का सम्झौता नगरेकोले नगरपालिकामा ताला लगाउन बाध्य भएको ठेकेदारको भनाई छ । मेयर, उपमेयर र कर्मचारीहरुलाई नगरपालिकाभित्रै थुनेर ठेकदारले ताला लगाएका थिए ।

नगरपालिकाले कात्र्तिक ६ गते हडिया खोलाबाट ढुंगा–गिटीका उत्खनन् गर्न ठेक्का आह्वन गरेको थियो । कात्र्तिक ७ गते ठेक्का हालेका ढुंगेलले पुस ४ गते ढुंगा–गिटी उत्खनन् गर्न आउने आशयपत्र नगरपालिकाबाट पाएका थिए ।

त्यसपछि पटक–पटक सम्झौता गर्न नगरपालिका धाउँदा सम्झौता नगरेर आलटाल गरेको ढुंगेलको गुनासो छ ।

नगरपालिकाले भने अनुसार टिडिएस, भ्याट र बैँक ग्यारेन्टी बुझाएको ढुंगेलको भनाई छ । १२ लाख नगद नगरपालिकाको बैँक खातामा र १५ लाख धरौटी जम्मा गरेको उनले बताए ।

हडिया खोलाको आइईई गरेको करिव १४ हजार घनमिटर ढुंगा–गिटी उत्खनन् गर्ने ठेक्का लिएको उनको दावी छ ।

यसअघि ढुंगा–गिटीको रसिद नगरप्रहरीले उठाउँदै आएको थियो । नगरप्रहरी आउँन छाडे । खोलाबाट ट्याक्टरहरुले सामान उठाउँदै भाग्न थालेपछि १५ दिनदेखि हामीले उठाउँन थालेको ढुंगेलले बताए । 

उनले सम्झौता नगरेपछि बाध्य भएर ट्याक्टरबाट ढुंगा–गिटी ओसार्नेलाई २०० देखि ४०० रुपैयाँसम्म रसिद कटाएर लिने गरेको बताए । टिडिएस, भ्याट, बैँक ग्यारेन्टी र धरौटी बापतको पैसाको व्याँज बढ्दै गएपछि बाध्य भएर ट्याक्टरलाई रसिद काट्न थालेको उनको भनाई छ ।

सोमबार दिउँसो नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीसँग वार्ता गरेको ढुंगेलले बताए । भोलि फेरि बस्ने गरी आजलाई बार्ता विना निष्कर्ष टुंगिएको उनले बताए ।

‘उहाँहरुसँग सहजिकरण गरिरहेका छौँ’, निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने–‘छलफल भइरहेको छ । चाँडै टुंगो लाग्ला ।’

‘अब हामी खोला ठेक्का लिदैनौँ’, ढुंगेलले भने –‘नगरपालिकालाई क्षतिपूर्ति बापतको ३५ लाख रुपैयाँ माग गरेका छौँ ।’