१४ वैशाख २०८१, शुक्रवार

मेचीनगरमा फुटबल प्रतियोगिता

प्रथम वडाध्यक्ष कप माघ २७ गतेदेखि

२४ माघ २०७९, मङ्गलवार
Image

मेचीनगर, २४ माघ । मेचीनगरमा प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।

आज मेचीनगर–९ को वडा कार्यालयमा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने जानकारी गराएको हो ।

९ नम्बर वडा कार्यालय अन्तरगतको खेलकुद विकास समितिका संयोजक एवम् वडा सदस्य राजेन खड्काले यहि माघ २७ गतेदेखि फागुन ७ गतेसम्म प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको बताए ।

वडाको ९ वटा टोलका युवा खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा वडाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । 

प्रतियोगिताका विजेतालाई नगद ४० हजार र उपविजेतालाई २५ हजार राशिसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने समितिका सचिव राजु धिमालले बताए । 

प्रायोजकका रुपमा मेचीनगरका सहकारी, सामुदायिक वन, जेसिज लगायतका सामाजिक संघ–संस्थाहरु रहनेछन् ।

प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताका लागि समितिलाई एक लाख ५० हजारको वजेट छुट्टाइएको पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष कञ्चनकुमार तामाङले बताए । उनले वडाका युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्न पनि यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिव दुई लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको समितिका सचिव धिमालले बताए ।