७ वैशाख २०८१, शुक्रवार

सहकारी

सहाराको ‘सदस्य सुनौं, सदस्य बुझौं’ अभियान

२५ माघ २०७९, बुधवार
Image

झापा, २५ माघ । मुलुककै कारोवार र सदस्यका आधारमा सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपाल साकोसले ‘सदस्य सुनौं, सदस्य बुझौं’ अभियान सञ्चालन गर्ने भएको छ ।

सहारा नेपालका एक लाख ६१ हजार सदस्य भइसकेका छन् । उनीहरुको अवस्था बुझ्न र के कस्तो सहयोग आवश्यक छ भनेर जानकारी लिन सहाराले घरघरै टोली परिचालन गर्ने भएको हो ।

हालै कनकाईको पर्यटकीय स्थल जामुनखाडीमा आयोजित संस्थाको दशौं विस्तारित भेलाले उक्त अभियानलाई अनुमोदन गरेको हो ।

भेलामा कार्यकारी प्रमुख तथा सहकारीका सचिव महेन्द्र गिरीले आम सदस्यको आवश्यकता हेरेर अघि बढ्नका लागि अभियान सुरु गरिएको बताउनुभयो ।

फागुन ७ देखि चैत २१ गतेसम्म (डेढ महिना) अभियान जारी रहने बताइएको छ । आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा सदस्यहरुको आर्थिक अवस्था कस्तो छ भनेर नजिकबाट बुझेर उहाँहरुको समस्या र गुनासालाई सम्बोधन गर्नु अभियानको उद्देश्य रहेको गिरीले बताउनुभयो ।

सहाराले आगामी एक दशकका लागि ‘मिसन २०८८’ अनुमोदन गरेको छ । मिसन २०८८ मा सञ्चालन गरिने स्पष्ट कार्यक्रमहरुका बारेमा भने छलफल र परामर्श जारी रहेको बताइएको छ ।

भेलाले १७ बुँदामा दशक कार्यदिशा अनुमोदन गरेको छ । जसमा अभियान लगायत कोष तथा तरलता व्यवस्थापन, आन्तरिक स्रोत वृद्धिका लागि बचतमा प्राथमिकता, ऊर्जा क्षेत्र सहयोग कार्यक्रम, उद्यमशीलता विकास रोजगारी सिर्जना, स्वास्थ्य सेवामा पहुँच लगायतका विषय छन् ।

भेलामा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी प्रमुख अतिथि र प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला विशेष अतिथि हुनुहुन्थ्यो ।

पन्ध्र अर्बभन्दा बढीको वासलात रहेको सहारा नेपाल साकोसको वित्तीय अवस्था सन्तुलित रहेको र हालसम्म तरलताको अभाव नरहेको कार्यकारी प्रमुख गिरीले बताउनु भएको छ । संस्थासँग हाल दुई अर्बभन्दा बढी तरलता रहेको छ ।