१२ वैशाख २०८१, बुधवार

‘जग्गादाता’ नै बिचल्लीमा, चन्दा उठाएर घर बनाउन सुरु

२५ माघ २०७९, बुधवार
Image

बिर्तामोड, २५ माघ । विगतमा दुर्गा मावि गरामनीलाई करोडौं मूल्यको एक बिगाहा जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता उजारु राजवंशीको परिवारका लागि घर बनाउन थालिएको छ ।

बुधवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले घरको शिलान्यास गर्नुभयो । 

करिव ५ लाख रुपैयाँको लागतमा तीन कोठे पक्की घर बनाइदिन लागेको उजारु राजवंशी भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताउनुभयो । 

घर निर्माणका लागि विभिन्न दाताहरुले सहयोग गर्ने बचन दिनुभएको राजबंशीले बताउनुभयो । 

घरको शिलान्यास गर्दै नगर प्रमुख प्रसाईले विद्यालयलाई सहयोग गरेका दानवीर राजवंशी परिवारलाई अहिले विपन्न अवस्थामा पुगेको हुँदा समाज सहयोगी बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले घर निर्माणका लागि नगरपालिकाका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं २ का वडाध्यक्ष किशोरकुमार पौडेलले सो घरको लागि चाहिने सम्पूर्ण ढोकाहरु आफूले व्यक्तिगत रुपमा दिने घोषणा गर्नुभयो । 

त्यस्तै वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईले आफूले पाउने एक महिनाको तलब भत्ता सो घरको लागि उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

त्यस्तै वडा नं ८ का वडाध्यक्ष अजय कार्कीले सहयोगको बचन दिनुभएको छ भने बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले सो घरको लागि आबश्यक कर्कट पाता सहयोग गर्ने घोषणा गर्नुभयो ।

सोही अवसरमा रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले ३० बोरा र कालीमाता मठ मन्दिर समितिले २० बोरा सिमेन्ट सहयोग गरेका छन् । 

उजारु राजवंशी भवन निर्माण समितिका संयोजक कृष्णप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी अन्यले पनि सहयोग गर्ने बताएका थिए । 

कार्यक्रममा वडा सदस्य सल्पना राजवंशी, राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जीतलाल राजवंशीलगायतको उपस्थिति रहेको थियो । भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले घर निर्माणको आवश्यकताका बारेमा प्रकाश पार्नु भएको कार्यक्रमको सञ्चालन सदस्य सरोज पौडेलले गर्नुभएको थियो ।

पौडेलका अनुसार हिजो जग्गाजमिन हुँदा विद्यालयलाई सहयोग गरेका राजवंशी परिवार अहिले विचल्लीमा परेको छ । 

दाता परिवारको दुःख देखेर आफूहरुको अगुवाई र सबैको सरसहयोगमा घर निर्माण गर्न लागिएको संयोजक पाठकले बताउनुभयो । उहाँले घर निर्माणका लागि सहयोग गर्न सबै सहयोगी हातहरुलाई आग्रह गर्दै त्यसका लागि लुम्बिनी विकास बैंकको बिर्तामोड शाखामा उजारु राजवंसी भवन निर्माण समितिको खाता नं ०७२००१२०२४२१५८०००००१ मा रकम जम्मा गर्न सकिने जानकारी दिनुभयो ।