१५ वैशाख २०८१, शनिवार

विचल्लीमा परेका बझाङका तीन बालबालिकाका सहारा बने झापाली

२७ माघ २०७९, शुक्रवार
Image

झापा, २७ माघ । बाबुको मृत्यु भएको र आमा अर्को विवाह गरेर गएपछि बिचल्लीमा परेका साइपालका तीन बालबालिकाले सहारा भेटेका छन् । साइपाल गाउँपालिकाको एकै परिवारका ती बालबालिकालाई झापाका तीन व्यक्तिले धर्मपुत्र–धर्मपुत्रीको रूपमा संरक्षण गर्न जिम्मा लिएका छन् ।

साइपाल–२ जिमाका १३ वर्षीया सुनिता बोहरालाई मेचीनगर नगरपालिका–१० का सुबोध निरौला, १० वर्षका अर्जुनलाई झापाकै मेचीनगर–१० का शिव पोखरेल र ७ वर्षीया सन्दीपालाई शिवसताक्षी नगरपालिका–८ का मोहन मैनालीले संरक्षण दिने ल्याएका छन् ।

२०७२ असारमा उनका बुबा दुर्क बोहराको खोलामा बगेर मृत्यु भएको थियो । यार्चा टिपेर घर फर्कने क्रममा असार अन्तिमतिर दुर्क बाटोमा पर्ने खहरे खोलामा बगेका थिए । त्यसयता तीन बालबालिकाको लालनपालन उनकी आमा अमृताले गर्दै आएकी थिइन् । मंसिरमा आमा अमृताले अर्को विवाह गरेर गएपछि उनीहरू अलपत्र परेका थिए । बालबालिकाको अवस्थाबारे माघ १९ गते कान्तिपुरमा समाचार प्रकाशित भएपछि संरक्षकहरू भेटिएका हुन् ।

उनीहरूले बिहीबार साइपाल गाउँपालिकाबाट कागजपत्र तयार गरी झापा जिल्ला अदालतबाट धर्मपुत्र–धर्मपुत्रीको प्रक्रिया पूरा गर्न उनीहरुलाई ल्याएका छन् । बालबालिकाको साथमा उनीहरूका नजिकका नातेदार रवीन्द्र बोहरासँगै झापा आएका छन् ।

‘यहाँको अदालतबाट प्रक्रिया थाल्दा केही दिन समय लाग्ने र यतै बस्नुपर्ने भएकोले हामीले झापा जिल्ला अदालतबाट नै काम गर्ने गरी सल्लाह गरेका छौं,’ सुनितालाई धर्मपुत्रीको रूपमा स्वीकार गरेका निरौलाले भने, ‘बालबालिकाका काकालाई सँगै लगेर प्रक्रिया पूरा गरेपछि मात्रै पठाउने सल्लाह भएको छ ।’ उनले धर्मपुत्र–धर्मपुत्री स्वीकार गर्नेको सम्पत्ति विवरण, फौजदारी अभियोग नभएको प्रमाणलगायतका विवरण अदालतमा बुझाउनुपर्ने र त्यसो गर्न झापा सजिलो हुने भएकोले उतैबाट प्रक्रिया गर्ने बताए । बालबालिकाको जिम्मा लिने तीनै जना झापामा विभिन्न उद्योग व्यवसायमा संलग्न छन् ।

बालबालिकालाई उनीहरूको जिम्मा लगाउँदै बालबालिकाले उचित संरक्षण र शिक्षादीक्षा पाउने आशामा आफू रहेको साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए । ‘तपाईंहरूको संरक्षणमा बालबालिकाको उचित स्याहारसुसार र पढाइ हुनेछ भन्ने आशा लिएको छु । उहाँहरूको जिन्दगी राम्रो बनाइदिनुहोला,’ अध्यक्ष बोहराले भने, ‘म पनि बालबालिकाको सम्पर्कमै रहनेछु ।’

(स्रोत-कान्तिपुर)