६ वैशाख २०८१, बिहिवार

आम्दा मेचीमा थपियो युएसजी र एएनसी सेवा

२८ माघ २०७९, शनिवार
Image

मेचीनगर, २८ माघ । धुलाबारीको आम्दा मेची अस्पतालमा २२ लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण थपिएको छ । 

आम्दा मेचीको मातृसंस्था आम्दा नेपालले उक्त सहयोग दिएको हो ।

थपिएका उपकरणहरुमा रु. २० लाख बराबरको युएसजी (अल्ट्रा साउन्ड सोनोग्राफी) मेसिन र रु. २ लाख बराबरको माइनर ओटी र एएनसी चेकअपका सामान रहेका छन् ।

गत साउन ११ गते मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी लगायतको टोलीले आम्दा नेपालको काठमाडौंस्थित कार्यालयमा पुगेर आम्दा मेची अस्पतालको स्तरोन्नतिका लागि सामान माग गरेको थियो ।

आम्दा मेचीमा प्रयोगशाला, इमेरजेन्सी सेवा, जेनेरल ओपिडी सेवा, इसीजी सेवा, डिजिटल एक्सरे सेवा सञ्चालन भइरहेको छ । अब माइनर ओटी, एएनसी चेकअपलगायतका सेवाहरु पनि उपलब्ध हुनेछन् ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले आम्दा मेचीलाई स्तरोन्नति गरेर सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउन प्रयत्नशील रहेको बताउनुभयो ।

नगरप्रमुख बुढाथोकी, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई र निवर्त्तमान अध्यक्ष ऋषिराज तिम्सिना लगायतको टोलीले हालै अस्पतालको अवलोकन गरेको छ ।