७ कार्तिक २०८१, बुधवार

प्रसाईको ‘महाअभियान’मा पूर्वराजा ज्ञानेन्द्र आउलान् ?

२९ माघ २०७९, आइतवार
Image

मेचीनगर, २९ माघ । चर्चित मेडिकल उद्यमी दुर्गा प्रसाईले काँकरभिट्टाबाट सोमवार सुरु हुने ‘नागरिक बचाउ महाअभियान’मा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हुने दावी गर्नुभएको छ ।

प्रसाईले मेची पुलबाट सोमवार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउन महाअभियान प्रारम्भ गर्नुहुने भएको छ । प्रसाईले आज विर्तामोडमा पत्रकार सम्मेलन गर्दै उक्त दावी गर्नुभएको हो ।

सो महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्व युवराज पारश शाह र राजपरिवारका अन्य सदस्य समेत आउने उहाँको दावी छ ।

‘देशलाई मुक्ति चाहिएको छ । मैले पूर्वराजालाई निम्तो दिन जाँदा उहाँको पुरै परिवारले नै आउने आश्वासन दिनुभयो,’ पत्रकार सम्मेलनमा प्रसाईले भन्नुभयो ।

तामाको नौमुखे दीयो बालेर मेची पुलबाट सोमवार सुरु हुने महाअभियान महाकालीमा पुगेर मात्र टुंगिने उहाँले बताउनुभयो । 

उद्घाटन कार्यक्रममा दुई लाख मानिस उतार्ने उहाँको दावी छ । लघुवित्त र बैंकहरुले चर्को ब्याजदर लगाएर जनतालाई आत्महत्या गर्न बाध्य पारिरहेको आरोप लगाउँदै उहाँले २० लाख रुपैयाँभन्दा कम ऋण राज्यले मिनाहा गरिदिनु पर्ने माग गर्नुभयो ।

बैक तथा वित्तीय संस्थाहरु र गणतन्त्रको विरुद्ध गालीमा धेरै समय खर्चिनु भएको प्रसाईले मुलुकलाई २०४६ साल चैत २६ गते अघिको अवस्थामा पुर्याउनु पर्ने राजबादी धारणा समेत व्यक्त गर्नुभयो । 

‘व्यवस्था बदल्नु पर्छ, अनि मात्र अवस्था बदलिन्छ,’ नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनु भएको उहाँले भन्नुभयो–‘आवश्यक पर्यो भने म जत्तिखेर पनि एमालेको सदस्यता त्याग्न तयार छु ।’

नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना गर्नुहुँदै उहाँले राप्रपाको लक्ष्य सत्तामा पुगेर मन्त्री बनेपछि पूरा भइसकेको टिप्पणी गर्नुभयो ।