२३ भदौ २०८१, आइतवार

प्रसाईको महाअभियानमा ‘भीड’ हेरेर मात्रै पूर्वराजा आउने

१ फागुन २०७९, सोमवार
Image

काँकरभट्टिा, २९ माघ । चर्चित मेडिकल उद्यमी दुर्गा प्रसाईले मेची पुलबाट आज सुरु गर्ने ‘नागरिक बचाउ महाअभियान’मा पूर्वराजा ज्ञानेन्द्र शाह सर्वसाधारणको ‘भीड हेरेर’ सहभागी हुने बुझिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउन महाअभियान उद्घाटनका अवसरमा उपस्थित हुन अभियन्ता प्रसाईले पूर्वराजा शाहलाई निम्तो दिनु भएको सार्वजनिक भइसकेको छ ।

पूर्वराजा निकट स्रोतका अनुसार पूर्वराजा शाह सो कार्यक्रममा आउने तयारीमा छन् । तर, कार्यक्रममा सहभागिता कति धेरै हुन्छ भन्ने आधारमा उहाँको आगमन हुने स्रोतको दावी छ ।

‘सहभागिता सानो भयो भने उहाँ आउनुहुन्न होला,’ स्रोतले भन्यो–‘तर, हजारौं सर्वसाधारण भेला भए भने महाअभियानको उद्घाटन गर्न आउनुहुन्छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाह राजपरिवारका सदस्यहरुसहित केही दिनदेखि दमकको हिमालय चिया बगानस्थित हिउँदकालीन दरबारमा बस्दै आउनु भएको छ ।

दमकको दरवारमा आज विहानैदेखि सुरक्षाकर्मीको चहलपहल बढेको छ । काँकरभिट्टामा सवारी चलाउने तयारी स्वरुप सुरक्षाकर्मीको सक्रियता बढेको स्रोतको दावी छ । 

अभियन्ता प्रसाईले आइतवार विर्तामोडमा पत्रकार सम्मेलन गरी आजको उद्घाटन कार्यक्रममा दुई लाख सर्वसाधारण उतार्ने दावी गर्नुभएको थियो । उहाँले पूर्वराजा ज्ञानेन्द्र आफ्नी पत्नी र छोरासहित कार्यक्रममा सहभागी हुने दावी गर्नुभएको थियो ।

आयोजक स्रोतका अनुसार पूर्वराजा शाहले तामाको नौमुखे दीयो बालेर मेची पुलबाट महाअभियानको उद्घाटन गर्नुहुनेछ । 

लघुवित्त र बैंकहरुले चर्को ब्याजदर लगाएर जनतालाई आत्महत्या गर्न बाध्य पारिरहेको भन्दै चर्काे प्रचारबाजी गरेर पछिल्लो समय प्रसाई थप चर्चामा हुनुहुन्छ । उहाँ राजाबादी राजनीतिक लाइनमा गएको चर्चा पनि चल्न थालेको छ ।