२ माघ २०८१, बुधवार

प्रधानमन्त्री भन्नहुुन्छ–‘जनयुद्ध अब राष्ट्रकै सम्पत्ति भयो’

१ फागुन २०७९, सोमवार
Image

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं. ६ मा नवनिर्मित जनयुद्धका लडाकुहरुको मोडल । यही स्थानमा डीएसपी ठूले राईलाई माओबादी विद्रोहीले अपहरण गरेर राखेका थिए ।

झापा, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध माओवादीको मात्रै नभई नेपाल राष्ट्रकै सम्पत्ति भएको बताउनु भएको छ ।

जनयुद्धले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक लोकतन्त्रसम्म ल्याउन निर्णायक भूमिका खेलेको बताउँदै उहाँले त्यही ऐतिहासिक दिनलाई वैधानिक तवरबाट स्थापित गर्न सरकारले फागुन १ गते सार्वजनिक विदा दिएको प्रष्टीकरण दिनुभयो ।

जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बिहान आयोजित एक कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘यो दिन एउटा ऐतिहासिक दिन हुनुको नाताले यसलाई वैधानिक तवरबाट स्थापित गरिनुपथ्र्यो । ढिलै भए पनि हिजो नेपाल सरकारबाट जनयुद्ध दिवस मनाउने निर्णय भयो र एक दिन सार्वजनिक विदा दिने निर्णय गरियो ।’

उहाँले भन्नुभयो–‘मैले त्यही ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट हिजो क्याबिनेटबाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन । यो अब नेपाल राष्ट्रकै सम्पत्ति भयो, आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो ।’

यसलाई ठीक ढंगले स्थापित गर्ने प्रमुख जिम्मेवारी रहेको पनि उनले बताए । ‘हामीले नै यसलाई आम जनताको बीचमा स्थापित गर्ने र यसै प्रक्रियाबाट सुशासन र विकासको नयाँ अभियानतिर लैजाने आवश्यकता छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएको प्रचण्डले पार्टी कार्यालय परिसरमा शहीद तथा बेपत्ताहरूको स्मरणमा निर्माण गरिएको स्तम्भमा माल्यार्पण पनि गर्नु भएको थियो ।