८ वैशाख २०८१, शनिवार

भद्रपुर झापा गोल्ड कप

पूर्वप्रधानमन्त्री ओलीद्वारा खेल तालिका सार्वजनिक

१ फागुन २०७९, सोमवार
Image

भद्रपुर, १ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ ।

यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

एक संक्षिप्त कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र आयोजक अध्यक्ष दिपेश ढकालले खेल हुने मेची रंगशाला भद्रपुरमा संयुक्त रुपमा खेल तालिका सार्वजनिक गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम सुब्बा, एसियाली फुटबल महासंघका विकास निर्देशक पुरुषोत्तम कट्टेल, राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्का, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाल, शौर्य एयरलेन्सका अध्यक्ष दिपक पोखरेलको उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फुटबल क्लब भारतबीच हुनेछ ।

त्यस्तै, दोस्रो खेल फागुन ८ गते नेपाल पुलिस क्लबविरुद्ध चर्च ब्वाइज युनाइटेडले खेल्नेछ । पछिल्लो ए डिभिजन लिगमा पुलिस ११ औँ स्थान र चर्च ब्वाइज नवप्रवेशी टिम हो ।

भद्रपुर झापा गोल्ड कपको तेस्रो खेल फागुन ९ गते पहिलो खेलको विजेतासँग संकटा क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा संकटा सातौँँ स्थानमा रहेको टोली हो ।

चौथो खेल फागुन १० गते दोस्रो दिनको विजेतासँग मछिन्द्र फुटबल क्लबले खेल्नेछ । मछिन्द्र लिग च्याम्पियन टोली हो ।

प्रतियोगिता अनुसार पाँचौँ खेल फागुन ११ गते त्रिभुवन आर्मी फुटबल क्लबका विरुद्ध भुटानको ड्रुक ल्हायुल फुटबल क्लबले खेल्नेछ । लिगमा आर्मी दोस्रो स्थानको टोली हो ।

भद्रपुर झापा गोल्ड कपमा छैटौँ खेल फागुन १२ गते एपिएफ फुटबल क्लबले बंगलादेश ढाकाको काउवार्न बजार प्रगति संघ एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ । लिगमा एपिएफ आठौँ स्थानको टोली हो ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १३ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन १४ गते हुनेछ । भद्रपुर झापा गोल्ड कपको फाइनल खेल फागुन १६ गते मंगलबार हुनेछ ।

भद्रपुरको मेची रंगशालामा हुने खेलका लागि करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्ड कप सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २० हजार रुपैयाँ दिइनेछ ।