१५ चैत २०८०, बिहिवार

मलाई त शंकै छ

२ फागुन २०७९, मङ्गलवार
Image

   नारी सञ्चार गृह झापाकी अध्यक्ष तथा प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य भीमा शिवाकोटी पत्रकारितासँगै सामाजिक क्षेत्रको कार्यमा जिल्लामा अग्रणी भूमिकामा रहनु भएकी एउटी सशक्त महिलाको रुपमा परिचित हुनुहुन्छ । रेडियो कञ्चनजंघाबाट पत्रकारिताको सुरुवात गर्नुभएकी शिवाकोटी पछिल्लो समय विभिन्न पत्रपत्रिका र अनलाइनमा राम्रो लेखका रुपमा पनि परिचित हुनुहुन्छ । पढौ हरेक पार्टी र संगठनको नेतृत्वमा बस्ने नेताको रबैयाविरुद्ध शिवाकोटीले तयार गरेको कविता-

   मलाई त शंकै छ
  -भीमा शिवाकोटी

   ए....नेता
   तिमीसंग कति धेरै आक्रोश छ
   तिम्रै कारण हाम्रो संगठन थोत्रो हँदैछ 
   के तिमी शासक या प्रशासक हौ  ?
   या तिमी हाम्रो रक्षक हौ ?
   मलाई त शंकै छ । 

   तिम्रो प्रस्तुति हेरिरहँदा लाग्छ तिमी प्रशासक हौ
   त्यसैले त तिमी सबैको मुखमा मिनरल वाटर पिलाउन उद्धत छौ
   आफ्नै कुरा मात्र सुनाउन चाहन्छौ
   तर तिम्रो चर्को आवाज पनि माइक्रो फोनमै सीमित छ
    खै के संगठन सुदृढ होला र
    मलाई त शंकै छ ।

    तिमी बोलिरहन्छौ हामी सुनिरहन्छौं
    दोहोरो संवादको खिलाफमा तिमी नै हुन्छौ
   अनि चहाना राख्छौ संगठन सुदृढ़ीकरणको
    एकहोरो संवादले संगठन सुदृढ होला के ?
    मलाई त शंकै छ ।

    न बैठकका एजेन्डाहरू बुझिन्छ
   नत तिम्रो बोली नै बुझ्ने गरी सुनिन्छ
   संगठन सुदृढ म कसरी बनाऊ नेताज्यू
   तिम्रो आक्रोशित आवाज मात्र स्टेजबाट गुन्जिन्छ
   खै संगठन सुदृढ होला के
    मलाई त शंकै छ ।

   तिम्रो सोच त्रेतायुगकै छ,अरूलाई नयाँ सोच राख भन्छौ
   आफु मात्र संगठनको ठूलो मान्छे अरू सबलाई भुरा ठान्छौ
   तिमी बोल्छौ मात्रै बोलेको कार्यान्वयन गर्दैनौ
   म कुन शब्दले सम्मान गरौ नेताज्यू
   तिम्रो हरेक कुरामा सहमति नराख्नेलाई कामै नलाग्ने भन्दैछौ
   खै संगठन सुदृढ होला के
   मलाई त शंकै छ ।

लेखकको बारेमा
Image
भीमा शिवाकोटी