४ वैशाख २०८१, मङ्गलवार

जाँच आयोगको प्रतिवेदन

यसरी भएको रहेछ यति एयरको जहाज दुर्घटना

३ फागुन २०७९, बुधवार
Image

झापा, ३ फागुन । पोखरामा माघ १ गते दुर्घटनामा परेको यति एयरको जहाजमा दुर्घटनाको ठीक अघि पाइलटको कमान्ड परिवर्तन भएको पाइएको छ ।

दुर्घटना जाँच आयोगले बुधबार वेबसाइटमार्फत सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको १४ सेकेण्ड अघिमात्र पाइलट अञ्जु खतिवडाबाट कमाण्ड प्रशिक्षक पाइलट कमल केसीले लिएका थिए ।

जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्ड अगाडि को–पाइलटको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले जहाजको कन्ट्रोल लिएको प्रतिवेदनमा देखिएको छ । त्यसबेला जहाजमा खतरा जनाउने संकेत देखिइसकेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

ल्यान्डिङ गियर भने सामान्य तरिकाले नै खुलेको थियो । अवतरणका दौरान पाइलट सिटमा बसेकी अञ्जुले को–पाइलटको सिटमा बसेका प्रशिक्षक पाइलट केसीसँग निरन्तर सुझाव मागेकी थिइन् । उनले जहाजलाई निरन्तर देब्रे मोड्ने कि नमोड्ने भनेर सोधेकी थिइन् । जसमा केसीले मोड्न अनुमति दिएका थिए । खतिवडाले जहाज अझै तल लैजाने वा नलैजाने भनी सोध्दा त्यसो नगरी इन्जिनको पावर बढाउन भनेका थिए ।

तर, इन्जिनमा पावर नआएको पत्तो पाएसँगै अन्तिम क्षणमा उनले जहाजको कमान्ड प्रशिक्षक पाइलट केसीको हातमा सुम्पिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘यो महत्वपूर्ण छ कि पाइलट अञ्जु खतिवडा पीएफले १०ः५७ः१८ मा जहाजको कन्ट्रोल पाइलट कमल केसी पीएमलाई हस्तान्तरण गरेकी थिइन् । १०ः५७ः२० मा केसीले पनि इन्जिनबाट कुनै शक्ति नआएको बताए ।’ त्यतिबेला जहाज जमिनदेखि ३११ फिट माथि थियो ।

दुर्घटनाका बेला जहाज धावनमार्गको बेस लेगमा थियो । अर्थात जहाज मोड्नुपर्ने अवस्थामा थियो । त्यसबेला जहाजका दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको छ । यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज सेती खोँचमा झरेको थियो ।

यो अवस्था आउनुमा इन्जिनकै खराबी थियो, मानवीय कमजोरी भयो वा अवतरण गर्ने मार्गमै केही समस्या थियो भन्नेबारे भने विस्तृत प्रतिवेदनले मात्र देखाउने भएको छ । दुर्घटना जाँच आयोगले अबको अनुसन्धान यी तीन विषयमा केन्द्रित हुने बताएको छ । सो दिन उही चालक दलका सदस्यको यो तेस्रो उडान थियो । जहाज भीएफआर प्रणालीबाट अवतरण गरिरहेको थियो ।

यो जहाज १०ः३२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । जहाज पोखरा पुगेपछि ६ हजार फिटबाट अवतरणका लागि ३११ फिटको उचाइमा ओर्लिसकेको थियो । ट्राफिक कन्ट्रोलरले जहाजलाई धावनमार्ग थ्री जीरोबाट अवतरण गर्न अनुमति दिएका थिए ।

तर, पाइलटले उत्तरतर्फको रनवे वान टुबाट जहाज अवतरण गराउने गरी अनुमति मागे । यस्तो अनुमति किन मागे भन्ने खुलेको छैन । सोही अनुसार एटीसीले अनुमति पनि दिएको थियो । तर जहाज केहीबेरमै दुर्घटनामा परेको थियो ।

यो नेपालको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा भयानक दुर्घटना थियो । जसमा ७२ जनाको मृत्यु भएको थियो । दुर्घटनालगत्तै सरकारले पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगले बुधबार अन्तरिम सुरक्षा सुझावसहितको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । दुर्घटनाको कारण भने विस्तृत प्रतिवेदनमा मात्र खुल्ने आयोगका एक सदस्यले जानकारी दिए ।

(अनलाइन खबर)