२ कार्तिक २०८१, शुक्रवार

धुलोले हैरान पारेपछि मेचीनगरबासी आन्दोलित

६ फागुन २०७९, शनिवार
Image

मेचीनगर ६ फागुन । सडकमा गाडीले धुलो उडाएर हैरान पारेपछि मेचीनगर वडा १४ को प्रगति टोलबासी आन्दोलित भएका छन् ।

टोल विकास समितिको शुक्रबार बसेको बैठकले पुष्पलाल मार्गमा पानी नहालेसम्म बाटो अवरुद्ध गर्ने निर्णय गरेको छ । स्थानीयले माग पूरा नभएसम्म बाटो नखोल्ने चेतावनी दिएका छन् । 

स्थानीय उद्योगमा ओहोरदोहोर गर्दै आएका गाडीहरुल धुलो उडाउदा प्रदूषणको शिकार बनेका छन् । यो समस्या समाधानका लागि स्थानीयले टोल बिकास समितिमार्फत उद्योगीलाई जानकारी गराउँदा कुनै वास्ता भएन ।

धुलो र धुँवाका कारण बालबालिका र बयोवृद्धा बिरामी परेका छन् । पटकपटक बाटोमा पानी हाल्न समितिले गरेको आग्रहलाई नमानेपछि वडा कार्यालय, नगर र प्रहरीलाई जानकारी गराउँदै बाटो अवरुद्ध गर्ने निर्णय गरेको समितिका सचिव डिल्लीराम उप्रेतीले बताउनुभयो ।

समितिको निर्णयप्रति समर्थन जनाउँदै मेचीनगर वडा नं. १४ का वडाध्यक्ष बाबुलाल सुब्बाले स्थानीयको माग जायज भएको बताउनुभएको छ । उहाँले उद्योगीलाई स्थानीयको माग सुनुवाई गर्न सुझाव दिनु भएको छ ।

यसैगरी, मेचीनगर वडा नं. १० को धुलाबारी मोड दक्षिण र खयरडाँगीमा पनि सडकमा धुलोको समस्या उग्र बनेको छ ।

सडक निर्माणका लागि पुरानो सडक कोपरेर धुलैधुलो बनाएर निर्माण व्यवसायी चुपचाप बसेका छन् । वडा कार्यालय र नगरपालिकाले समेत धुलोमा पानी हाल्ने व्यवस्था मिलाउन सकेका छैनन् ।

स्थानीय बासिन्दा र व्यवसायीहरुले आफ्नो पीडाको कतैबाट पनि सुनुवाई नभएको दुखेसो गरेका छन् ।