१२ साउन २०८१, शनिवार

खेलकुद

सार्कस्तरीय भद्रपुर गोल्डकपको तयारी पूरा

७ फागुन २०७९, आइतवार
Image

भद्रपुर,  फागुन । अठार वर्षपछि भद्रपुरस्थित मेची रंगशालाको काचुली फेरिएको छ । प्यारापिट रंगिएका छन् । नरम घाँस मैदान मुलायम बनेको छ । रंगशाला प्रवेश गर्ने मुख्य बाटो नयाँ बनेको छ । भद्रपुर विमानस्थलदेखि रंगशालासम्म सडकमा भ्यापरलाइट राखिएका छन् । यति मात्र होइन, चन्द्रगढीको एकमात्र महेन्द्र पार्कमा रंगरोगन भएको छ ।

भद्रपुरमा आएको यो परिवर्तन त्यहाँ फागुन ७ देखि सुरु हुन लागेको भद्रपुर गोल्डकप फुटबल प्रतियोगिताका कारणले हो ।

सार्कस्तरीय ए लेभलका क्लवहरुबीचको फुटबल प्रतियोगिताको आयोजनासँगै मेची रंगशाला र वरपरको पर्यटकीय आकर्षणका संरचनाले नयाँ स्वरुप पाएका हुन् । 


नेपाल, भारत, भूटान र बंगलादेशका दश टिमको सहभागिता रहने प्रतियोगितालाई मुस्ताङ बियरले मुख्य प्रायोजन गरेपछि प्रतियोगिताको नाम अगाडि मुस्ताङ थपिएको छ ।

मुस्ताङ भद्रपुर गोल्डकप फुटल प्रतियोगिताका आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, मनाङ मस्र्याङ्दी लगायतका नेपालका ख्यातिप्राप्त ए डिभिजन टिमको सहभागिता रहने प्रतियोगितामा आयोजकका तर्फबाट भद्रपुर ब्लेजर्स टिममा स्थानीय र क्यामरुमका ख्यातिप्राप्त खेलाडी समेटिएका छन् ।

फाुगन ७ गते प्रजातन्त्र दिवसको अवसरमा प्रतियोागिताको उद्घाटन झापा ३ का प्रतिनिधिसभा सदस्य समेत रहनु भएको उपप्रधान, ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री राजेन्द्र लिङ्देनले गर्नुहुने छ ।  

प्रतियोगिताका बिजेता टिमले १३ लाख रुपैयाँको प्रथम पुरस्कार पाउने छ भने दोस्रो हुनेले ७ लाख रुपैयाँको पुरस्कार पाउने छ ।

शनिवार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ ।

ज्येष्ठ नागरिक, विद्यार्थी र अपांगता भएकालाई निःशुल्क खेल हेर्न दिने व्यवस्था मिलाइएको छ । सबैभन्दा सस्तो टिकटको १५० रुपैयाँ लाग्ने र त्यसवापत दर्शकले १४० रुपैयाँ बराबरको सिंगापुर बेभरेजको जुस सित्तैमा पाउने बताइएको छ ।


रंगशालामा २० हजार दर्शकले एकैचोटी खेल हेर्ने गरी स्थायी र अस्थायी प्यारापिट तयार पारिएको छ । टिकट काटेर खेल हेर्ने दर्शकले हरेक दिन २४ इन्चको एउटा टिभी, सौर्य एयरलाइन्सको काठमाण्डौ भद्रपुरको ३ वटा टिकट र ५ जनाले होटलमा खाना निशुल्क पाउने गरी लक्की ड्रको व्यवस्था समेत गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

आयोजक समितिका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, आयोजक टिमका प्रमुख प्रशिक्षक हरि खड्का, सौर्य एयर लाइन्सका अध्यक्ष दिपक पोखरेल, पूर्व एआइजी विज्ञानराज खड्का लगायत खेल संम्बद्ध अगुवाहरुको सहभागिता रहेको थियो ।