५ जेठ २०८१, शनिवार

महोत्सवमा एक रुपैयाँमै पाइन्छ चिया

६ फागुन २०७९, शनिवार
Image

झापा, ६ फागुन । विर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार मेलामा एक रुपैयाँमै एक कप चिया पाइन्छ भन्दा पत्याउन मुस्किल पर्ला ।

तर, कुरा साँचो हो । खुला बजारमा न्यूनतम् १५ रुपैयाँमा पाइने चिया महोत्सवको एउटा स्टलमा एक रुपैयाँमै उपलब्ध भइरहेको छ ।

‘रंग छिटो खाँदा मिठो’ भन्ने नारासहित अर्जुनधारा–६ को सीता चिया तथा घरेलु मसला उद्योगले एक रुपैयाँ मै ‘मेजमान’ नामक चिया विक्री बितरण गरिरहेको छ ।

नेपालको चिया विश्व सामु चिनाउने उद्देश्यले व्यवसायीद्वय चक्र कार्की र नरेश सापकोटाले यति सस्तोमा चिया उपलब्ध गराउनु भएको हो ।

सीता चिया तथा घरेलु मसला उद्योगले अग्र्यानिक र विना मिसावटको शुद्ध चियाको व्यापार गर्दै आएको छ । चियाको प्रचारका लागि महोत्सवमा आएका अवलोकनकर्तालाई सस्तोमा चिया उपलब्ध गराएको विषयले चर्चा पाएको छ ।

कार्की इलाम श्री अन्तु निवासी हुनुहुन्छ । नेपाली चियाको प्रवर्धनका लागि सेवासंगै व्यवसायलाई जोड्न सस्तोमा चिया दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

उहाँहरुले महोत्सवमा छुट्टै स्टल राखेर चिया विक्री गर्दै आफ्नो उत्पादन समेत विक्री गरिरहनु भएको छ । 

देशको अर्थतन्त्र नै सुस्ताएको र व्यवसायी समेत समस्यामा परिरहेका बेला व्यवसायलाई  चलायमान बनाउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको छ । एघार दिनसम्म सञ्चालन हुने महोत्सवमा तीन लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो ।

महोत्सवमा हरेक दिन एक हजार भन्दा बढी कप चिया विक्री भइरहेको दावी छ ।