७ वैशाख २०८१, शुक्रवार

भद्रपुर झापा गोल्डकप

चर्च ब्वाइजसँग शक्तिशाली पुलिस क्लव पराजित

८ फागुन २०७९, सोमवार
Image

भद्रपुर, ८ फागुन । शक्तिशाली मानिएको नेपाल पुलिस क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपमा चर्च ब्वाइज युनाइटेडसँग सोमबार पराजित भएको छ ।

यो जित निकालेसँगै चर्च ब्वाइज गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ ।

चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे । सिंहले ४० औँ र चौधरीले खेलको ५६ औँ र ६० औँ मिनेटमा गोल गरे । किप्परबाट पञ्च भएको बललाई पेनाल्टी एरियामा रहेका सिंहले गोलमा परिणत गरेका थिए ।

पहिलो गोलपछि आक्रमक बनेको चर्च ब्वाइजले दोस्रो हाफमा थप दुई गोल गर्यो । दुवै गोल चर्च ब्वाइजका स्ट्राइकर चौधरीले गरे ।

खेलको ५६ औँ मिनेटमा सुवास गुरुङले गरेको पासमा पेनाल्टी एरियामा रहेका चौधरीले गोलमा परिणत गरेका थिए । लगत्तै ६० औँ मिनेटमा चौधरीले अर्को गोल थपे ।

मैदानबाट बलअघि बढाउँदै चौधरीले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको अधिकांश समय पुलिस क्लब चर्च ब्वाइजको दबाबमा परेको थियो । खेलभर पुलिसको प्रदर्शन कमजोर देखियो । चर्च ब्वाइजले राम्रो प्रदर्शन गरे पनि अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

जितसँगै चर्च ब्वाइजले क्वाटरफाइनलमा बुधबार मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ । मंगलबारको पहिलो क्वाटर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । 

आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले बताए । 

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । 

उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ । प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ ।