८ वैशाख २०८१, शनिवार

नेवार समुदायको जातीय पहिचान झल्कने सांस्कृतिक प्रस्तुति

९ फागुन २०७९, मङ्गलवार
Image

झापा, फागुन ९ । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बिभिन्न जातीय सांस्कृतिक झलकले विशेष महत्व पाएको छ । 

व्यवसायिक स्टलका अलावा जातीय संस्कृति झल्कने स्टलहरु समेत महोत्सवमा राखिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ संगको सम्वन्वयमा महोत्सवमा स्टल राखिएका हुन् । 

महोत्सव स्थलमा थारु, राजवंशी, दनुवार, नेवार  लगायतका काल संस्कृति झल्कने प्रतिकात्मक स्वरुपमा स्टल राखिएको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताउनुभयो । त्यस बाहेक प्रत्येक दिन विभिन्न जात जातिका औपचारिक कार्यक्रम सम्पन्न हुँदै आएका छन् । 

गत फागुन ५ गतेदेखि सञ्चालनमा आएको महोत्सव स्थलमा मंगलवार नेवार समुदायले जातीय पहिचान झल्कने विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

नेवार समुदायको लाखे नाच, धिमे वाजा सहित जातीय पोशाकमा महोत्सव स्थलमा पुगेका उनीहरुले औपचारिक कार्यक्रम मार्फत महोत्सव सफलताको शुभकामना दिए । 

यस अघि सोमवार राजवंशी समुदायका अगुवा नेता र कलाकारहरुको उपस्थितिमा उक्त कार्यक्रम भएको थियो । 

प्रत्येक दिन फरक फरक जातीका अगुवा नेता तथा कलाकर्मीहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुँदै आएको महोत्सव आयोजक समितिका सचिव कुशल खतिवडाले बताउनुभयो । 

महोत्सव स्थलमा विभिन्न कृषि उपजका स्टलहरु समेत समावेश छन् । प्रदेश सरकार कृषि मन्त्रालयको सहयोगमा फलफूल र कृषि उपजका पाँच पाँच वटा स्टल राखिएको मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिनाले बताउनुभयो । 

सचिव तिमिल्सिनाको नेतृत्वमा आएको मन्त्रालयको टोलीले मंगलवार महोत्सव स्थल अवलोकन गरेको छ । 

फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक साँझ सुप्रशिद्ध राष्ट्रिय कलाकारहरुको सांङ्गितिक प्रस्तुति रहँदै आएको छ । साङ्गितिक प्रस्तुतिमा मनोरञ्जन लिन उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहँदै आएको समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो । 

महोत्सवमा मनोरञ्जनका लागि राखिएका खेल सामग्रीले महोत्सवको रौनकता बढाएको बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो । मेलामा नेपालकै अग्लो रोटेपिङ राखिएको छ । 

त्यस वाहेक महोत्सव स्थलमा आकर्षक प्रवेशद्वारा, बृज खलिफा, धरहरामा सेल्फी खिच्नेहरको भीड लाग्ने गरेको छ ।