२० वैशाख २०८१, बिहिवार

उपाधि न्यू स्टार क्लबलाई

९ फागुन २०७९, मङ्गलवार
Image

मेचीनगर, ९ फागुन । न्यू स्टार क्लब बुद्धशान्तिले नवज्योति फुटबल कपको उपाधि हात पारेको छ । 

आज सम्पन्न फाइनल खेलमा आयोजक नवज्योति युवा क्लबलाई ३–० को गोल अन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि उचालेको हो । 

बुद्धशान्तिका जर्सी नं १७ का अनुज भट्टराई, जर्सी नं ५ का प्रशान्त लिम्बु र जर्सी नं १० आयुश राईले एक÷एक गोल गरेका थिए । 

स्थानीय नवज्योति आधारभुत विद्यालयको खेल मैदानमा अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । 

दोस्रो हाफमा आक्रामक रुपमा अघि बढेको बुद्धशान्तिले खेल सुरु भएको २ मिनेटमै पहिलो गोल गर्यो ।

आयोजक टिमका गोलरक्षक अघि बढेको मौकालाई सदुपयोग गर्दै बुद्धशान्तिका अनुज भट्टराईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । एक गोलको अग्रता लिएको बुद्धशान्तिले खेलको ४० औँ मिनेटमा पुनः प्रशान्त लिम्बुले गोल गरे ।

आयोजकले थुप्रै मौका पाएको थियो । तर प्रहारहरु सबै असफल भए । 

खेलको ६० औँ मिनेटमा फेरि बुद्धशान्तिका आयुश राईले पुनः अर्को गोल गर्दै आफ्नो टिमको जित निश्चित गरे । बुद्धशान्तिले ३–० को सानदार जितका साथ उपाधि चुम्यो । 

उपाधिसगैँ बुद्धशान्तिले ८१ हजार नगद तथा उपविजेता आयोजकले ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका लागि दोस्रो गोल गर्न सफल अनुज भट्टराई घोषित भए । उनले मेडल प्राप्त गरेका छन् । 

त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता विजेता टिमकै आयुश राई घोषित भए । उनले सर्वाधिक ३ गोल गर्दै बेस्ट स्कोरर अवार्डको रक्षा गरेका हुन् । 

प्रतियोगिताको म्यान अफ द सिरिजको अवार्ड पनि विजेता टिमकै विशाल दर्जीले प्राप्त गरेका थिए । यस्तै उत्कृष्ट गोल रक्षकको अवार्ड आयोजक टिमका गोल रक्षक देवन भुजेलले हात पारे । 

प्रदेश सांसद माग

फाइनल खेलमा प्रदेश १ का सांसद गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो । खेलाडीहरुलाई शुभकामना दिदैँ सांसद तामाङले स्थानीय सरकारले खेलकुद प्रतियोगिताको नीति बनाएर युवा खेलाडीहरुको हौसला बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।

उहाँले नवज्योति युवा क्लबको भवन निर्माणका लागि प्रदेश सरकारबाट हुने सहयोगका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा मेचीनगर–३ का वडाध्यक्ष हर्क बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, वडा नम्बर २ का वडाध्यक्ष दिपक बराल लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिता गत माघ २८ गतेदेखि सुरु भएको थियो । नवज्योति युवा क्लबको ३० औँ बर्ष प्रवेशको अवसरमा सो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सुमन थापाले बताउनुभयो ।