१६ चैत २०८०, शुक्रवार

फोहोरलाई मोहोर बनाउने परियोजनाले झापामा जगायो आशा

१० फागुन २०७९, बुधवार
Image

झापा, २८ माघ (रासस) : झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित तीन नगरपालिकाले सहलगानीमा फोहोरमैला व्यवस्थापन गर्ने बायोग्यास परियोजना निर्माण गरेका छन् । निर्माणको अन्तिम चरणमा रहेको परियोजना केही महिनाभित्रै सञ्चालनमा आउने तयारीमा छ ।

जिल्लाको मध्यभागमा रहेको विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका परियोजनामा जुटेका हुन् । बिगत चार वर्षदेखि निरन्तर निर्माण भइरहेको परियोजना कनकाई नगरपालिका वडा नं. २ को सुकेडाँगीमा रहेको छ । परियोजना सञ्चालनमा आएपछि ती नगरपालिकामा फोहोरमैलाबाट उत्पन्न समस्याको दीगो समाधान हुने विश्वास गरिएको छ । 

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार तीन वटै नगरको फोहोरमैलालाई ल्याएर जैविक मल र बायोग्यास उत्पादन गर्ने सोचका साथ २०७५ सालमा कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा लिमिटेड स्थापना भयो । परियोजनाका लागि आवश्यक कूल लगानी रु. १३ करोड ६३ लाखमध्ये ४० प्रतिशत रकम बैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबाट अनुदान प्राप्त हुने र बाँकी ६० प्रतिशत तीन वटै नगरपालिकाले जुटाउने सहमति अनुरुप हाल काम निर्णायक चरणमा पुगेको उहाँले बताउनुभयो ।

दैनिक पचास टन फोहोर प्रशोधन हुने

परियोजनास्थलमा दैनिक ५० टन फोहोर प्रशोधन गर्नसक्ने चार हजार घनमिटर क्षमताको बायोग्यास प्लान्ट जडान भइसकेको छ । जसले हरेक दिन १० टन जैविक मल र १००० केजी बायो सीएनजी (ग्यास) उत्पादन गर्न सक्छ ।

तीन बिगाहा क्षेत्रफलमा फैलिएको परियोजनास्थलमा ग्यासप्लान्ट, पाइपलाइन विस्तार र प्रशासनिक भवन निर्माण भइसकेको परियोजनाका बायोविज्ञ जीवन श्रेष्ठले बताउनुभयो ।

अहिले केही महत्वपूर्ण मेसिनरी जडान र विद्युत आपूर्तिको लाइन निर्माण धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो । ग्यास होल्डर, डिजेस्टर पार्ट लगायत परियोजनाको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको जनाउँदै उहाँले भन्नुभयो–“कुनै व्यवधान खडा भएन भने अबको एक महिनापछि प्लान्ट सञ्चालनमा ल्याउन सकिन्छ ।”

उहाँले विर्तामोड, अर्जुनधारा र कनकाई नगरबाट निस्कने फोहोर परियोजनाका लागि अपर्याप्त हुने बताउनुभयो । पूर्ण क्षमताका साथ मेसिन चलाउने हो भने आसपासका अरु पालिकाबाट समेत फोहोर संकलन गरिनु पर्ने र घाँस, गोबर लगायत अन्य प्रकारका कच्चा पदार्थको बन्दोबस्त गरिनुपर्ने उहाँको सुझाव छ ।

परियोजनामा सहलगानी गरेका तीन नगरपालिकाबाट दैनिक १५ देखि १८ टन मात्र फोहोर संकलन हुने सम्भावना छ । फोहोर व्यवस्थापनका लागि लगानी साझेदारीका लागि मेचीनगर, भद्रपुर, बाह्रदशी, शिवसताक्षी लगायतका छिमेकी पालिकाहरुलाई समेत आग्रह गरिएको छ । तर, अरु पालिकाहरु अध्ययनकै चरणमा रहेका छन् ।

राति राति फोहोर पुर्दै विर्तामोड

झापाको सबैभन्दा व्यस्त र आवादी सहर भएको कारण विर्तामोडमा फोहोरमैलाको समस्या विकराल बन्दै गएको छ । बजार र सडक क्षेत्रमा थुप्रिएको फोहोर दुर्गन्धित हुँदा नगरपालिका नै बद्नाम हुने गरेको छ ।

विर्तामोडमा फोहोर संकलन गर्ने र बाहिर लैजाने स्रोत साधनको पर्याप्त व्यवस्था हुँदाहुँदै पनि फोहोरलाई बिसर्जन गर्ने ठाउँ नपाएर समस्या भएको नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा बताउनुहुन्छ ।

“हामीसँग गल्ली र चोकहरुबाट फोहोर संकलन गर्ने र त्यसलाई ओसार्ने स्रोत, साधन र संयन्त्र पर्याप्त छ,” उहाँ भन्नुहुन्छ–“तर, संकलन भएको फोहोर कहाँ लगेर फाल्ने र कसरी बिसर्जन गर्ने भन्ने विषयमा समस्या भएको हो ।” 

हाल निराकार सरसफाई सेवा प्रालिलाई नगरपालिकाले विर्तामोड बजार क्षेत्रको फोहोरमैला सरसफाई गर्ने जिम्मेवारी दिएको छ । तर, बजारबाट संकलित फोहोरलाई स्थानीय खोला र सडकको किनारमा खाल्डो खनेर पुर्ने मात्र गरिदै आएको छ । 

विर्तामोड नगरपालिकाले बिगतमा विभिन्न स्थानमा डम्पिङ साइटको खोजी गरेर फोहोरमैला बिसर्जनको प्रयास गरेको थियो । स्थानीयबासीले फोहोर फाल्न अवरोध गरेका कारण नगरले फोहोरलाई उचित ढंगले बिसर्जन गर्न नपाएको नगरप्रमुख महतरा बताउनुहुन्छ ।

नगरपालिकाको गाडीले राति राति फोहोर बोकेर खोला र सडक किनारमा फोहोरलाई पुर्ने कार्य पनि आलोच्य बन्ने गरेको छ । प्लास्टिकजन्य फोहोरको थुप्रोमा आगो लगाएर नष्ट गर्दा वातावरण प्रदूषित हुने गरेको गुनासो आउने गरेको छ ।

“कनकाईको ग्यास प्लान्टमा हामीले पनि साझेदारी गरेका छौं, त्यो सञ्चालनमा आएपछि विर्तामोडको फोहोरमैलाको समस्याले उचित समाधान पाउने हाम्रो विश्वास छ”–नगरप्रमुख महतरा भन्नुहुन्छ ।

मेचीनगर र भद्रपुरमा पनि छैन डम्पिङसाइट

झापामा विर्तामोड बाहेक दमक, मेचीनगर र भद्रपुरमा फोहोरमैलाको समस्या अन्यत्रको तुलनामा धेरै छ । दमक नगरपालिकाले आफ्नै लगानीमा बायोग्यास प्लान्ट निर्माण गरिसकेको छ ।

मेचीनगर र भद्रपुर नगरपालिका अझै पनि खोलाको बगरमा फोहोर थुपारेर जलाउने गर्छन् । मेचीनगर नगरपालिकाको धुलाबारी क्षेत्रको फोहोरमैला स्थानीय निन्दा नदीको बगरमा थुपारेर जलाउने कार्यले बस्तीमा वायु प्रदूषण फैलिने गरेको जनगुनासो छ ।

खोलाको बगर र जंगलका बीचमा फालेर फोहोरमैलाको दीर्घकालीन र उचित समाधान नहुने विषयमा नगरपालिकाका जनप्रतिनिधिहरु सहमत छन् । तथापि, विकल्प केही नहुँदा नगरका फोहोर फ्याक्ने गाडीहरु खोलाको बगर र जंगलतिरै गइरहेका भेटिन्छन् ।

“खोला र जंगलमा फालेर यो समस्याको दीगो समाधान हुँदैन भन्ने सबैले बुझ्न जरुरी छ,” मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी भन्नुहुन्छ–“फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ र यसको वैज्ञानिक उपायहरु हुन्छन् । तर, यही कुरो स्थानीयले नबुझिदिएसम्म समस्याको दीगो समाधान भइरहेको छैन ।”

मेचीनगर नगरपालिकाले सेनेटरी ल्यान्डफिल्ड साइटको रुपमा प्रयोग गर्न राजमार्ग उत्तरको क्षेत्रमा जग्गा व्यवस्थापन गरेको केही वर्ष बितिसकेको छ । अनेक प्रयास गर्दा समेत स्थानीय बासिन्दाले परियोजनालाई अघि बढाउन सहमति दिएका छैनन् । गाउँमा फोहोरको दुर्गन्ध फैलिने त्रास स्थानीयबासीलाई छ ।

भद्रपुर नगरपालिकाले पनि वर्षौ अघि मेची नदीको छेउमा ल्यान्डफिल्ड साइटका लागि जग्गा व्यवस्थापन गरेको थियो । तर फोहोरलाई वैज्ञानिक ढंगले प्रशोधन गरेर जैविक मल बनाउने कार्य नहुँदा त्यहाँबाट दुर्गन्ध फैलिइरहेको गुनासो आउने गरेको छ । 

मेची नदीको बगरमा डोजर लगाएर बनाएको खाल्डोमा फोहोरलाई पुरिदै आएको छ । ल्यान्डफिल्ड साइटका लागि खरिद गरिएको जग्गा चन्द्रगढी विमानस्थलको धावनमार्गबाट नजिक रहेको कारण चील र गिद्धहरु आएमा हवाईमार्गमा अवरोध पुग्ने सम्भावना पनि औल्याइने गरेको छ ।

आफ्नै ल्यान्डफिल्ड साइटको उचित बन्दोबस्त समेत गर्न नसकेका भद्रपुर र मेचीनगर नगरपालिकालाई कनकार्इृको ग्यासप्लान्टमा आवद्ध हुन आग्रह गरिएको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले हालै मेचीनगरका जनप्रतिनिधिहरुलाई ग्यासप्लान्टको अवलोकन भ्रमण गराएर सहलगानीमा आउन आग्रह गर्नुभएको थियो ।

अबको चुनौति : फोहोर बर्गीकरण

दमक र कनकाई गरी दुई स्थानमा फोहोरमैलाबाट ग्यास र मल उत्पादन गर्ने परियोजना निर्माण भइसके तापनि त्यसको सञ्चालनमा ‘फोहोरको बर्गीकरण’ चुनौतिपूर्ण बन्ने सम्भावना छ ।

कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा लिमिटेडका बायोविज्ञ जीवन श्रेष्ठका अनुसार बायोग्यास प्लान्टमा कुहिने फोहोर मात्र हाल्नु पर्ने हुन्छ । घरको भान्सा, होटल, तरकारी तथा फलफुल पसल आदिबाट निस्कने फोहोरलाई ट्यांकीमा हालेर कुहाइने र मिथेन ग्यास उत्पादन गरिने प्रविधि परियोजनामा जडान गरिएको छ ।

बायोविज्ञ श्रेष्ठले नगरपालिकाहरुले परियोजनामा फोहोर पठाउँदा नै बर्गीकरण गरेर पठाउनु पर्ने बताउनुभयो । “श्रोतमै फोहोरको बर्गीकरण गर्न अहिलेदेखि तयारी थाल्न नगरपालिकाहरुलाई अनुरोध गर्दछु,” उहाँ भन्नुहुन्छ–“यहाँ ल्याएर सबैखालका फोहोर थुपार्न थालियो भने डम्पिङ साइट बन्ने सम्भावना हुन्छ ।”

नगरपालिकाहरुले आफ्नै क्षेत्रमा फोहोरको तीन किसिमको बर्गीकरण गर्नुपर्ने हुन्छ । कुहिने, नकुहिने र धातुजन्य फोहोर गरी तीन किसिमको वर्गीकरण हुनुपर्ने विज्ञको सुझाव छ । 

कुहिने फोहोरबाट ग्याँस र मल उत्पादन हुन्छ भने नकुहिने प्लास्टिकजन्य फोहोरबाट निर्माण सामग्री (पेभर्स) उत्पादन गरिने श्रेष्ठले बताउनुभयो । कनकाईको परियोजनास्थलमा प्लास्टिकजन्य फोहोरबाट पेभर्स उत्पादन गर्नका लागि मेसिनरी जडान भइरहेको छ ।

हाल विर्तामोड नगरपालिकाले घरबाटै फोहोरको वर्गीकरण गर्नका लागि नगरबासीलाई तालिम र सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याएपछि त्यसलाई सिधै कनकाईको बायोग्यास प्लान्ट रहेको परियोजनामा लैजाने नगरको तयारी छ ।

अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले आफ्नो नगरबाट संकलन हुने फोहोरमैलालाई वर्गीकरण गरेर कनकाईको बायोग्यास प्लान्टमा प्रशोधनका लागि लगिने तयारी भइरहेको जानकारी दिनुभयो । हाल सो नगरमा निजी जग्गा भाडामा लिएर फोहोरलाई बिसर्जन गरिदै आएको उहाँले बताउनुभयो । 

विर्तामोडमा ठूला अस्पतालबाट निस्कने फोहोरमैला थप समस्या बनेका छन् । अस्पतालहरुले प्रयोग भइसकेका सिरिन्ज र अपरेसन थिएटरबाट निस्कने फोहोरलाई एउटै ठाउँमा हाल्ने गर्दा समस्या निम्तिएको हो । 

खोला, जंगल र सडक किनारमा सिरिन्जजन्य फोहोर फाल्दा मानवीय क्षति पुग्ने सम्भावना हुन्छ । केही महिना अघि विर्तामोडका केही अस्पताललाई कनकाईको बिरिङ खोलामा सिरिन्जजन्य फोहोर राति फाल्ने गरिएको भेटिएपछि जरिवाना तिराइएको थियो ।

लगातार बढिरहेको सहरीकरणमा सबैभन्दा चुनौतिको विषय बनिरहेको फोहोरमैला समस्या अब कनकाईको बायोग्यास परियोजना निर्माणपछि समाधान हुने आशामा छन् विर्तामोडबासी । कनकाई र अर्जुनधारा जस्ता पर्यटकीय एवम् धार्मिक स्थल रहेको नगरपालिका समेत यो परियोजनाबाट फोहोरमैलाको समस्या दीर्घकालीन रुपमा समाधान हुने भरोसामा रहेका छन् । 

“फोहोरबाट मोहोर निस्कन्छ भन्ने सुनेको धेरै वर्ष भइसक्यो,” विर्तामोड निवासी सामाजिक कार्यकर्ता सुवास भट्टराई भन्नुहुन्छ–“कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा लिमिटेडले सुनेको कुरालाई यथार्थमा परिणत गर्नेछ भन्ने हामी नगरबासीको विश्वास छ ।”

परियोजनाबाट उत्पादन हुने जैविक मल र मिथेन ग्यासको व्यावसायिक प्रयोग पनि चुनौतिपूर्ण छ । नगरपालिकाहरुले त्यहाँबाट उत्पादित ग्यासलाई पाइपलान र सिलिन्डर दुबै माध्यमबाट उपभोग गर्न सकिने जनाएका छन् ।–––


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।