७ वैशाख २०८१, शुक्रवार

भद्रपुर झापा गोल्डकप

मछिन्द्र क्लब अन्तिम चारमा

१० फागुन २०७९, बुधवार
Image

भद्रपुर, १० फागुन । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । 

मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक÷एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने चर्च ब्वाइजले गरेको थियो । खेलको ५४ औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुवाती गोल गरे । तर, उनले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गरेका थिए ।

यद्यपि अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१ औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै मछिन्द्रलाई खेलमा फर्काए ।

खेललाई बराबरीमा फर्काएपछि उत्साहित मछिन्द्रका खेलाडीले लगत्तै अर्को गोल थपे खेलको ८६ औँ मिनेटमा विमल घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे ।

मछिन्द्रले फाइनल प्रवेशका लागि अब एपिएफ पुटबल क्लब र काउवार्न बजार प्रगति संघ बंगलादेशबीचको विजेतासँग आइतबार खेल्ने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

बुधबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

भोलिको खेल त्रिभुवन आर्मी फुटबल क्लब र डु«क ल्हायुल फुटबल क्लब भुटानबीच हुनेछ ।

आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।