८ वैशाख २०८१, शनिवार

लिङ्देनको स्पष्टिकरण–‘घुस खाएको कसैले प्रमाणित गरिदिए, झुण्डिन तयार छु’

११ फागुन २०७९, बिहिवार
Image

झापा, ११ फागुन । उपप्रधान, ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री राजेन्द्र लिङ्देनले विद्युत प्राधिकरणको विद्युत खरिद सम्झौता (पीपीए) सम्झौतामा एक रुपैयाँ पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गरिदिए खुलामञ्चमा झुण्डिन तयार रहेको बताउनुभएको छ ।

पीपीए सम्झौता गर्दा एक अरब रकम घुस लिएको भनी गरिएको दुष्प्रचारप्रति उहाँले प्रतिवाद गर्दै आज फेसबुकमार्फत आपत्ति व्यक्त गर्नुभएको छ ।

नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता गरेको विषयमा रकम लिएको भनी सुनियोजित ढंगबाट दुष्प्रचार गरिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभएको छ–‘विद्युत खरिद सम्झौतामा मात्र होइन, मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनै पनि निर्णयमा मैले एक रूपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर नै काम गर्नेछु ।’