७ वैशाख २०८१, शुक्रवार

सत्ता गठबन्धन संकटोन्मुख, पुरानै पाँचदलीय ब्युँताउने तारतम्य

११ फागुन २०७९, बिहिवार
Image

झापा, ११ फागुन । राष्ट्रपति कसलाई बनाउने भन्ने बिषयमा मतभिन्नता बढ्दै गएपछि अहिलेको सत्ता गठबन्धन संकटको डिलमा पुगेको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुसँगको छलफलमा पाँच दलीय गठबन्धन ब्युँताउनेबारे निर्णायक तहको छलफल सुरु भएको हो ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने नाममा माओवादीले कांग्रेसका उम्मेद्वारलाई सघाउने मनसाय देखाएपछि सत्ता गठबन्धनमा विवाद आएको हो । तर, ओलीले प्रचण्डलाई आफै प्रस्ताव गर्न भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र पूर्व सभामुख सुवास नेम्वाङको नाम दिनु भएको छ ।

ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अघि सारेर पाँच दलीय गठबन्धनमा असहमति बढाउन खोजेको माओवादीको बुझाइ छ । बुधबार साँझ कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का लगायत नेताहरुले बालुवाटारमा वार्ता गर्नुभएको छ ।

बैठकमा राष्ट्रपतिमा सहमति जुटाएर पाँच दलीय गठबन्धन ब्युताउने तयारी बारे छलफल भएको थियो ।

फागुन १३ गतेसम्ममा पाँच दलीय गठबन्धनलाई ब्युँताएर अघि बढ्ने बारे सहमति भएको हुनसक्ने स्रोतले जनाएको छ ।

कांग्रेसबाट राष्ट्रपतिमा सभापति देउवासहित राचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । त्यसबारे निर्णय लिन कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।