८ वैशाख २०८१, शनिवार

भद्रपुर झापा गोल्डकप

त्रिभुवन आर्मी अन्तिम चारमा

११ फागुन २०७९, बिहिवार
Image

भद्रपुर, ११ फागुन । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली डुक ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक÷एक गोल गरे । खेलको तेस्रो मिनेटमै आर्मीले पाहुन टोली भुटानविरुद्ध गोल गर्यो । पेनाल्टी एरिया नजिकै आर्मीले पाएको फ्रिकिकको सदुपयोग गर्दै तेस्रो मिनेटमा जितेन्द्र कार्कीले गोल गरे । उनले फ्रिकिकबाट सिधै जाली चुमाएका हुन् ।

यस्तै, खेलको ६४ औँ मिनेटमा आर्मीका सुशान्त चौधरीले अर्को गोल थपे । बारमा ठोकिएर फर्किएको बललाई पेनाल्टी एरियामा रहेका चौधरीले गोल गरेका थिए ।

सुरुवातमै गोल खाएपछि दबाबमा रहेको भुटान पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा क्वार्टर फाइनलबाटै घर फर्कनु पर्यो । खेलमा भुटानको डिफेन्स लाइन निकै कमजोर देखिन्थ्यो । जितसँगै आर्मीले फाइनल प्रवेशका लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

बिहीबारको खेलको प्लेयर अफ द म्याच आर्मीका जितेन्द्र कार्की घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

शुक्रबारको खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले बताउनुभयो ।