१३ वैशाख २०८१, बिहिवार

अहिले भर्खरै

कांग्रेसलाई राष्ट्रपति दिने सहमति, नाम कांग्रेसले तोक्ने

१२ फागुन २०७९, शुक्रवार
Image

झापा, १२ फागुन । बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ । 

पुरानो सत्ता गठबन्धनका ५ दल र थप तीन दलको बैठकले सो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन ।

नेपाली कांग्रेसले भोलि बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मूक्ति पार्टी पनि थपिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नै ठूलो दल भएको हैसियतले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गर्नुभएको थियो । 

उक्त प्रस्तावमा बैठकमा सहभागी सबै दलले समर्थन गरेको ज्वालाले बताउनुभयो । व्यक्तिका सन्दर्भमा कांग्रेसले आफैं निर्णय लिने उहाँको भनाइ थियो ।