७ वैशाख २०८१, शुक्रवार

टिप्पणी

प्रचण्डको युटर्न : एमालेसँग नाता टुट्यो, कांग्रेससँग फेरि जोडियो

१३ फागुन २०७९, शनिवार
Image

झापा, १३ फागुन । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अचानक बद्लिने चतुर नेताका रुपमा पनि चिनिनुहुन्छ । सत्ता गठबन्धन बदलेर उहाँले आफ्नो त्यही युटर्न प्रवृत्ति दोहोर्याउनु भएको छ ।

गत पुस १० गते नेकपा एमालेसहित छ दलको गठबन्धन बनाएर प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । तर, तीन महिना नबित्दै उहाँले नयाँ गठबन्धन भताभुंग बनाउनुभएको छ ।

आज नेपाली कांग्रेससहित आठ दलको नयाँ गठबन्धन बनाएर उहाँले राष्ट्रपति पद नेपाली कांग्रेसलाई दिने निर्णय गर्नुभएको छ । राष्ट्रपति पद नेकपा एमालेलाई दिने पुस १० गतेको सहमतिबाट पछाडि फर्किएर उहाँले नयाँ राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।

आजको नयाँ निर्णयसँगै नेकपा एमाले अहिलेको सत्ता गठबन्धनबाट बाहिरिने परिस्थिति निर्माण भएको छ । यद्यपि एमालेले सरकारबाट बाहिरिने निर्णय भने सुनाइसकेको छैन ।

राष्ट्रपति चयनको प्रकरणसँगै बदलिएको राजनीतिक परिदृश्यले चुनाव अघि नेपाली कांग्रेसको नेतृत्वमा रहेको एमाले बाहेकको राजनीतिक गठबन्धन ब्युँतिएको छ । 

नयाँ कोर्स अघि बढ्दै जाँदा केन्द्रको सत्ता मात्र नभएर सातै प्रदेशका सरकारमा फेरबदल आउने निश्चित छ ।

गत चुनावमा कांग्रेस र माओबादीसहितको गठबन्धनले नै साझा उम्मेद्वार उठाएका थिए । माओबादीलाई प्रधानमन्त्री बनाउन कांग्रेसले आनाकानी गरेपछि माओबादी अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग आधा आधा कार्यकाल बाँड्ने गरी सम्झौता गर्नुभएको थियो ।

त्यसबेला कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन निर्माण समेत राजनीतिमा अप्रत्यासित घटना थियो ।