२२ वैशाख २०८१, शनिवार

मदन भण्डारी राजमार्ग ः सडकको भौतिक प्रगति ४० प्रतिशत

१३ फागुन २०७९, शनिवार
Image

झापा, १३ फागुन । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान -झापा सडक खण्डको ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका इन्जिनियर सजित शर्माका अनुसार शान्तिनगर- सर्दुखोलासम्मको १३१ किलोमिटर सडकमध्ये ९५ दशमलव ७८ किलोमिटरको ठेक्का लागिसकेको छ । जसमध्ये हाल निर्माणधीन अवस्थामा रहेको सडकको भौतिक प्रगति ४० प्रतिशत भएको उहाँले जानकारी दिनुभयो । 

उहाँले पाँच वटा निर्माण व्यवसायीहरुले आयोजनासँग जिल्लागत ठेक्काको सम्झौता गरी काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार सो सडक खण्ड अन्तरगत सुनसरीमा १३ किलोमिटर, मोरङमा ३६ किलोमिटर, झापामा ३५ दशमलव ८ किलोमिटर र इलाममा १० दशमलव ९८ किलोमिटर सडक निर्माणको काम भइरहेको छ । 

उहाँले पूर्वी प्रस्थान बिन्दु बाहुनडाँगीदेखि शान्तिनगरको १० किलोमिटर सडकको दुवै क्षेत्रमा ड्रेन निर्माणको काम लगभग सकिएको बताउनुभयो । सो सडक खण्डको ठेक्का श्रेष्ठ मोतीदान ज्वाइन्ट भेञ्चरले एक बर्ष अघि नै दुई वर्षमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो । 

उहाँले तोकिएको मितिमा बाहुनडाँगी शान्तिनगर सडक खण्डको निर्माण सम्पन्न हुने बताउनुभयो । धरान- झापा सडकखण्डमा बन्ने ३७ वटा पुल र १३१ किलोमिटर सडकका लागि संघीय सरकारले रु. १० अर्ब १३ करोड बजेट विनियोजन गरेको छ । 

सो सडक खण्डमा पर्ने पुल र सडकको निर्माणमा हालसम्म रु चार अर्ब ८७ करोड खर्च भइसकेको उहाँले बताउनुभयो । “सडकभन्दा पुल निर्माण छिटो भइरहेको छ”, उहाँले भन्नुभयो “अझै ३५ दशमलव १३ किलोमिटर सडकको ठेक्का लाग्नै बाँकी छ ।”

संघीय सरकारको बजेटबाट निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ । यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास र सिमलटारी, प्यूठानको बागदुला, र देवीस्थान, दाङको घोराही, तुलसीपुर र पुरनधारा, सुर्खेतको बोटचौर, डोटीको सिमचौर र बिपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

उहाँले यो सडक नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर तथा भित्री मधेश छिचोल्दै पश्चिम महाकाली नदीसम्म करिब एक हजार २०० किलोटरको हुने बताउनुभयो ।