२ माघ २०८१, बुधवार

अपहरणमा परेकी धाइजनकी किशोरीको काठमाडौंमा उद्धार

१३ फागुन २०७९, शनिवार
Image

मेचीनगर, १३ फागुन । विदेशी नागरिकको कब्जामा परेको आशंका गरिएकी मेचीनगर–११ की १३ वर्षीया किशोरीको आज दिउँसो काठमाडौंमा उद्धार भएको छ ।

बुवा वैदेशिक रोजगारीमा रहेको र आमा मात्र घरमा भएकी ती किशोरी दुई दिन अघि विद्यालय जान्छु भनेर घरबाट हिँडेपछि घर फर्किएकी थिइनन् । उनी बलभद्र माविमा कक्षा ६ मा पढ्छिन् ।

प्रहरीको समेत सहयोगमा खोजतलास गर्दा किशोरी अन्दाजी ४५ वर्षका चिनियाँ नागरिकको साथमा रहेको सुइँको पाएपछि आज सीआइबीको टोलीले काठमाडौंमा विशेष खोजी अभियान चलाएको थियो ।

मोवायल र लोकेसन ट्रयाक गरेर पिछा लागिरहेको थाहा पाएपछि किशोरीसहित संदिग्ध चिनियाँ नागरिकले काठमाडौंको सातदोबाटोस्थित प्रहरी कार्यालयमा आज साढे १२ बजे आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले किशोरीको उद्धार भएको पुष्टि गर्नुभयो ।

किशोरीको खोजी कार्यमा मेचीनगर–११ की सामाजिक कार्यकर्ता बन्दना मेचे, एमाले नेता एवम् पूर्व महान्यायाधिवक्ता अग्नि खरेल, इलाका प्रहरी कार्यालय धुलाबारी र काँकरभिट्टाले सहयोग पुर्याएको बताइएको छ ।