८ वैशाख २०८१, शनिवार

त्रिभुवन आर्मी भद्रपुर झापा गोल्ड कपको फाइनलमा

१३ फागुन २०७९, शनिवार
Image

भद्रपुर, १३ फागुन । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।

निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा टुंगिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो ।

थप गरिएको समयको ११ औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै संकटालाई आर्मीले १–० ले पराजित गरेको थियो । आर्मीले पाएको फ्रि–किकलाई केसीले सदुपयोग गरे । सन्तोष केसीको फ्रि–किकलाई उनले जाली चुमाए ।

जितसँगै आर्मीले उपाधिका लागि मछिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ ।

दर्शकले खचाखच खेलमा दुवै टिमले आक्रामक खेल खेलेका थिए । दुवै टोलीले गोल गर्ने अवसरहरु गुमाएका थिए ।

खेलको ८८ औँ मिनेटमा आर्मीका रिपु भुलानको पासमा प्रज्ज्वल गुरुङले हेडमार्फत गोल गरे । गोल भएपछि खेलाडीहरु खुसी मनाउन थाले ।

तर, अफसाइडका कारण गोल दिइएन । त्यही बेला संकटाका मनिष डाँगीले बललाई अगाडि बढाउँदै गरेको प्रहार पोस्ट नजिकबाटै बाहिरियो । डाँगीलाई डिबक्सबाहिर आर्मीका जितेन्द्र कार्कीले लडाए ।

शनिबारको खेलको प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । 

आइतबार हुने अन्तिम सेमिफाइनल खेल मछिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।