२३ भदौ २०८१, आइतवार

गाउँ–गाउँमा संस्कार पढाइरहेका छौं : अध्यक्ष भट्टराई

१४ फागुन २०७९, आइतवार
Image

दुधे, १४ फागुन । जनकल्याण प्रतिष्ठान एकल अभियान झापाका अध्यक्ष शंकर भट्टराईले स्कुल जाने विद्यार्थीलाई विहान बेलुका समय मिलाएर अभियानमार्फत गाउँमै संस्कारयुक्त शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।

संस्थाको २७ औं स्थापना दिवसमा शनिवार शिवगञ्जमा आयोजित विशेष कार्यक्रममा बोल्दै उहाँले २७ वर्ष पहिले धादिङको एउटा गाउँमा २८ जना विद्यार्थी पढाएर सुरु भएको एकल विद्यालय अभियानमा अहिले ४६ जिल्लाका ५०१ गाउँ जोडिएको बताउनुभयो ।

भद्रपुर, शिवसताक्षी, अर्जुनधारा, हल्दिबारी र विर्तामोडमा २५ वटा कक्षाहरु सञ्चालन भइरहेको र एउटा विद्यालय सञ्चालन गर्न वार्षिक न्यूनतम् ३६ हजार रुपैयाँ खर्च हुने उहाँले बताउनुभयो ।

एकल विद्यालयमा संस्कार, भाषा, गणित, सामान्य ज्ञान, विज्ञान, हस्तशिल्प, स्वास्थ र शारीरिक शिक्षा पढाइ हुने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । 

शिवसताक्षीको वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाई प्रमुख अतिथि र वडा नं. ६ का अध्यक्ष मनोज खुलाल अतिथि रहेको कार्यक्रम अभियानका जिल्ला अध्यक्ष शंकर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । 

सो कार्यक्रममा बिराटनगर प्रभाग प्रमुख योगमाया न्यौपाने, जिल्ला सदस्य तथा विश्वहिन्दू परिषद् झापा जिल्ला अध्यक्ष होमनाथ ढुङ्गेल, शिवसताक्षी सञ्च प्रमुख पिताम्बर बराल लगायतले अभियानका बारेमा धारणा राखेका थिए ।