१५ वैशाख २०८१, शनिवार

मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु

१४ फागुन २०७९, आइतवार
Image

मेचीनगर, १४ फागुन । झापाको परिवर्तन थिएटरमा आज ‘प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव’ सुरु भएको छ । फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका १० वटा माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन् ।

बिगत दश वर्षदेखि झापामा नाट्य कलाको प्रवर्धन गरिरहेको परिवर्तन थिएटरले विद्यालयमा नाट्य विधालाई व्यावहारिक रुपमा चिनाउन उत्सवको आयोजना गरिएको थिएटरकी अध्यक्ष कविता नेपालले बताउनुभयो ।

हरेक दिन चार वटा नाटक मञ्चन हुने सो उत्सवमा उत्कृष्ट विद्यालयले पुरस्कार पाउनेछन् भने नाटक लेखन, अभिनय र निर्देशनका बारेमा प्रशिक्षण समेत सञ्चालन हुनेछ ।

पश्चिम बंगालका प्रसिद्ध नाट्यकर्मी विश्वजित रोयले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको जनाउँदै अध्यक्ष नेपालले उत्सवमा मेचीनगरको परिवर्तन थिएटर र दमकको कदम थिएटरले आफ्नो नाटक प्रस्तुत गर्ने जानकारी दिनुभयो ।

झापाको मेचीनगर, विर्तामोड र दमकका कलाकर्मीहरुले थिएटर स्थापना गरेको भए तापनि मेचीनगर नगरपालिकाबाट नाटक घर निर्माणका लागि पाँच वर्षदेखि आश्वासन मात्र पाइरहेको अध्यक्ष नेपालले गुनासो सुनाउनुभयो ।

कोभिड–१९ को महामारी फैलिए यता नाट्य क्षेत्र समेत संकटमा परेको छ । लामो अन्तरालपछि पहिलोपल्ट विद्यालयस्तरीय नाट्य उत्सव गरिएको उहाँले बताउनुभयो ।

“एउटा नाटक घर बनाउन बजेट दिनुहोस् भनेर बिगत पाँच वर्षभित्र दर्जनौं फाइल पेश गरेर प्रस्ताव लग्यौं,” एक दशकदेखि नाट्य विधामा समर्पित परिवर्तन थिएटरकी अध्यक्ष नेपाल भन्नुहुन्छ–“हाम्रो आवाज कसैले सुनेनन् । नगरपालिकामा मेयर फेरिनुभयो, तर कलाप्रतिको उहाँहरुको संकुचित दृष्टिकोण फेरिएन ।”

नेपालमा रंगकर्मीहरु नाटक देखाएर जीवन धान्न सक्ने अवस्थामा नरहेको बताउँदै उहाँले समाज रुपान्तरण र जनचेतना अभिवृद्धिको सशक्त माध्यमको रुपमा रहेको नाट्य कलाप्रति राज्यका सबै तहले उपेक्षा दर्शाउँदा कलाकारहरु पलायन भइरहेको गुनासो गर्नुभयो ।